चालु आबको छ महिनामा ४ प्रतिशतको उपभोक्ता मुद्रास्फीति

काठमाडौँ: चालु आर्थिक वर्षको छ महिनासम्म उपभोक्ता मुद्रास्फीति न्यून नै रहेता पनि कृषिजन्य वस्तुहरुको मूल्यमा हुने उतार चढाव र निर्माण सामाग्री तथा पेट्रोलियम पदार्थको मूल्य प्रवृत्तिले मुद्रास्फीतिको आगामी परिदृष्य निर्धारण गर्ने देखिन्छ ।

आपूर्ति अवस्था सुदृढ रहेको र सम्भावित मुद्रास्फीतितर्फ विश्वव्यापी रुपमै ध्यान केन्द्रित भएकोले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति लक्षित ७ प्रतिशतको सीमा भित्रै रहने नेपाल राष्ट्र बैंकले अपेक्षा छ ।

united_cement

२०७३ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२ प्रतिशत रहेकोमा २०७४ पुस महिनामा ४ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्यान्नको मूल्यमा भएको केही वृद्धिको कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.७ प्रतिशतले ऋणात्मक रहेको थियो ।

गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, स्वास्थ्य, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.५ प्रतिशत, तराई र पहाड दुबैमा ४.४ प्रतिशत र काठमाडौं उपत्यकामा २.९ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ४.७ प्रतिशत तथा आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा तलब सूचकाङ्कमा ९.७ प्रतिशत र ज्यालादर सूचकाङ्कमा ५.१ प्रतिशतले वृद्धि भएको छ ।
तलब अन्तर्गत निजी प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था र शिक्षा उप–समूहहरूको तलब सूचकाङ्क क्रमशः ३६.३ प्रतिशत, १०.६ प्रतिशत र ५.८ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी, ज्यालादर अन्तर्गत कृषि मजदूर, औद्योगिक मजदूर र निर्माण मजदूरको ज्यालादर सूचकाङ्क क्रमशः ४.८ प्रतिशत, ६.६ प्रतिशत र ३.१ प्रतिशतले वृद्धि भएको छ ।