चितवन र नुवाकोटका एनसेल टावरमा एकै समयमा बम विस्फोट र आगजनी

Advertisement

चितवन: पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए ।

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

यस्तै, नुवाकोटको विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ ।

साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ ।

एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

Advertisement

Advertisement

Advertisement