प्रदेश २ मा बिहीबार सरकार गठन हुँदै, राउतको नेतृत्त्वमा सानो आकारको मन्त्रिपरिषद् बन्ने

Advertisement

काठमाडौँ: प्रदेश २ मा बिहीबार सरकार गठन हुने भएको छ । मुख्यमन्त्रीका रूपमा फोरम संसदीय दलका नेता मोहम्मद लालबाबु राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बुधबार नियुक्त गर्दै छन् । उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन् । लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् ।

संघीय समाजवादी फोरम र राजपाले प्रदेश सरकार गठनका लागि मंगलबार प्रदेश प्रमुख कायस्थसमक्ष दाबी पेस गरे । दुवै दलले प्रदेश प्रमुखसमक्ष बहुमत पेस गर्दै फोरम दलका नेता राउतलाई मुख्यमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । राउतले सरकार निर्माणका लागि राजपासहितको समर्थनको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए । राजपा दलका नेता जितेन्द्र सोनालले फोरमलाई सरकार निर्माणमा समर्थन गरेको छुट्टाछुट्टै पत्र प्रदेश प्रमुखलाई बुझाएका हुन् ।

‘सरकार गठनका लागि दाबी पेस भएको छ, अब सरकार निर्माणको प्रक्रिया सुरु भयो भनेर बुझ्दा हुन्छ,’ राजपा नेता सोनालले भने । प्रदेश सभामा १०७ सांसद छन् । सरकार निर्माणका लागि आवश्यक ५४ जनाको समर्थन राउतलाई छ । प्रदेश सभामा फोरमका २९ र राजपाका २५ सांसद छन् ।

प्रदेश प्रमुख कायस्थका स्वकीय सचिव वरुण यादवले बुधबार नै राउतलाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारीमा प्रदेश प्रमुख रहेको बताए । फोरम र राजपाले सोमबार साँझसम्म दाबी पेश गरेको भए प्रदेश प्रमुखले मंगलबार नै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका थिए । त्यसो हुन नसकेपछि प्रदेश प्रमुख कार्यालयले सोमबार साँझ सूचना प्रकाशित गरी बिहीबारसम्म बहुमत पेस गर्न आह्वान गरेका थिए ।

फुटबल मैदानमा शपथ
प्रदेशका भावी मुख्यमन्त्री राउतले खुला मैदानमा शपथग्रहण कार्यक्रमको आयोजना गर्न प्रदेश प्रमुख कायस्थलाई आग्रह गरेका थिए । उनको आग्रहका आधारमा प्रदेश प्रमुखले जनकपुर चुरोट कारखानाको फुटबल मैदानमा शपथग्रहण कार्यक्रम गर्न लागेका हुन् । बिहीबार दिउँसो १२ बजे मुख्यमन्त्रीको शपथ हुनेछ ।

Advertisement

Advertisement

Advertisement