प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

Advertisement

बुटवल: प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘५ नं प्रदेशमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement