मुद्दा पेस भएसँगै सिलवाल अव फरार अभियुक्त करार

Advertisement

काठमाडौं: एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस भएको बताए ।

‘सिलवालविरुद्धको किर्ते मुद्दा अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको छ । वकिल कार्यालयले अब मुद्दा अनुसन्धान गर्नेछ । त्यसपछि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ,’ उनले भने ।

अब के हुन्छ ?
अधिवक्ता भाइराज राईका अनुसार मुद्दा सरकारी अदालतमा पेस भएलगत्तै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । तर, उनको सांसद पद भने तत्कालका लागि निलम्बनमा पर्दैन । सरकारी वकिल कार्यालयले प्रहरीले पेस गरेको मुद्दा अध्ययन गर्छ । अध्ययनपछि अभियोग दर्ता गर्न मिल्ने हो या होइन, टुंगो लाग्छ । अभियोग दर्ता हुन योग्य ठहरिए सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा अदालतमा दर्ता गर्छ । दर्ता गर्न योग्य ठहरिएन भने मुद्दा मुल्तबीमा रहनेछ ।

अदालतमा मुद्दा पेस भएपछि बहस हुनेछ । अदालतले फरार अभियुक्तलाई बयानका लागि ७० दिनको म्याद दिनेछ । ७० दिनभित्र बयानका लागि फरार अभियुक्त अदालतमा हाजिर नभए मुद्दा कमजोर भएको ठहरिनेछ । त्यसपछि न्यायाधीशले फरार अभियुक्तविरुद्ध आवश्यक दण्ड–जरिवानासहित मुद्दाको फैसला गर्नेछन् ।
पत्रपत्रिकाबाट

Advertisement

Advertisement

Advertisement