मध्यरातमा प्रधानमन्त्री ओलीलाई मोदीले फोनमार्फत दिए बधाई, भारत भ्रमणको निम्तो

Advertisement

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् । मोदीले बिहीबार राति टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका थिए । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताएक थिए । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।

भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई बिहीबार नै टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएको ओलीको सचिवालयले जनाएको छ ।

त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिएका छन ।

राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका हुन् । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओली निवास बालकोटमा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । बिहीबार रातिदेखि नै भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरीका उच्च पदस्थ अधिकारीहरु, शुभचिन्तक, नेता, कार्यकर्ता, सांसद लगायतको भीड लागेको छ । आज बिहान पनि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको छ ।

Advertisement

Advertisement

Advertisement