नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न तीन वर्षको समय माग

Advertisement

चितवनः दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ ।

देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार ४९ दिन थप गर्न माग गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि तीन पटक गरेर १० महिना यसअघि नै म्याद थप गरिएको थियो ।

तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेकाअनुसार तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम–रौताहा जेभीले १२ दशमलव १ किलोमिटर सडक विस्तार गर्न थप समय माग गरेको हो । सो कम्पनीले यसअघि नै १० महिना थप समय पाइसकेको छ ।

कम्पनीले भूकम्पका कारण काम हुननसकेको भन्दै आठ दिन, मौसम खराब भएकाले १९६ दिन, तराई बन्दका कारण ४४ दिन, इन्धन अभावका कारण ४९ दिन, पहिरोले सडक अवरोध गरेका कारण ६० दिन, पूरा दिन काम गर्न नपाएको भन्दै ४३८ दिन, सडकमा सवारी जामका कारण १७ दिन, निर्वाचनका कारण ३० दिनर चाडपर्वका कारण ४९ दिन समय माग गरेको छ ।

त्यसैगरी पुलका कारण १० दिन, माघे संक्रान्तिको तीन दिन, बिजुलीको पोल समयमा नहटेका कारण ७७ दिन, जलबिरेमा सडक साँघुरो भएको भन्दै १९ दिन तथा काम थपिएको भन्दै १०९ दिन माग गरिएको घिमिरेले बताए ।

यसैगरी दोस्रो खण्ड निर्माणको जिम्मा लिएको उड हिल–लामा जेभीले १० दशमलव ७ किलोमिटर सडक निर्माण गर्न ३३६ दिन थप समय माग गरेको छ भने पहिलो खण्ड निर्माण जिम्मा लिएको बिएलए–श्रेष्ठ जेभीले १० दशमलव ४ किलोमिटर सडक विस्तार गर्न थप ६८४ दिन समय माग गरेको छ ।

आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनियर पुष्कर रेग्मीले एक हजार ४९ दिन समय माग गर्ने तेस्रो खण्डलाई ९९ दिन, ३३६ दिन मागेको दोस्रो खण्डलाई ८९ दिन र ६८४ दिन थप समय मागेको पहिलो खण्डलाई ८५ दिन उपयुक्त भएको भन्दै प्रस्ताव गरिएको बताए । पहिलो खण्डका लागि १० मे २०१८, दोस्रो खण्डका लागि २० मे २०१८ र तेस्रो खण्डका लागि ३० मे २०१८ सम्मको समय थप गर्न सिफारिस गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले समय थपको सिफारिस विभागमा पठाइएको बताए । उपयुक्त कारण रहेका र काम गर्न नसकिएको समयलाई मात्रै समय थपको सिफारिस गरिएको उनले बताए । हालसम्म विभागले समय थपको निर्णय गरिसकेको छैन ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । विसं २०७४ शुरु भएयताको दुई पटकको निर्वाचन, वर्षातको समय, चाडपर्वको समय र थपिएको कामका कारण काम गर्ने समय थप्न लागिएको छ ।

Advertisement

Advertisement

Advertisement