नेपालमा खुलेआम भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी, युरोपेली र खाडी मुुलुकमा भने प्रतिवन्ध

Advertisement

काठमाडौं: नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ ।

मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री-वितरण भइरहेको हो ।

अत्यधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी-फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मिर्गौला खराबी, आँखाको ज्योति कमजोर, विकलांग बच्चाको जन्म, हृदयाघात, प्यारालाइसिसलगायत गम्भीर प्रकृतिका दीर्घकालीन रोग लाग्ने प्रवल सम्भावना हुन्छ ।

दुई साताअघि युरोपेली संघसहित खाडी मुलुकले भारतमा उत्पादन हुने तरकारी र फलफूलमा मानव स्वास्थ्यलाई हानि गर्ने गरी मापदण्डभन्दा बढी विषादी प्रयोग भएको भन्दै प्रतिबन्ध लगाएका थिए। युरोपेली र खाडी मुुलुकले प्रतिबन्ध लगाएपछि अहिले यो विषय दिल्लीस्थित हाइकोर्टमा पुगेको छ ।

युरोपेली मुलुकले निर्धारण गरेको मापदण्डभन्दा सात सय ५० गुणा बढी विषादी भारतीय तरकारी तथा फलफूलमा भेटिएको छ। यसका कारण भारतबाट निर्यात हुने तरकारी र फलफूलमाथि ती मुलुकले प्रतिबन्ध लगाएका हुन् ।

भारतमा उत्पादन हुने करेला, आलु, भान्टा, परबल, कोसेबाली (सिमी, बोडी, मटर), फर्सी, काउली, बन्दा, काँक्रो, भेडेखुर्सानी, हरियो खुर्सानी, गोलभेडा, भिन्डी, अलफान्जो र अन्य जातका आँप, स्याउ, अंगुरलगायतमा अत्यधिक विषादी भेटिएको भारतीय अखबारले उल्लेख गरेका छन्। विषादीयुक्त भारतीय उत्पादन वर्षैाँदेखि परीक्षणबिनै खुलेआम नेपाली उपभोक्ताको भान्सामा पुग्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement