मर्मतका लागि मध्यमस्र्याङदी १० दिन बन्द हुने, लोडसेडिङ केही बढनसक्ने संकेत

Advertisement

काठमाडौंः कुल ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सातदेखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको बायाँ तर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि भन्दै फागुन १० गतेबाट आयोजना बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

मध्यमस्र्याङदीको विद्युत उत्पादन बन्द भए पनि यसका कारणले आम उपभोक्तालाई लोडसेडिङ गर्नु नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तर्क छ । यद्यपि पछिल्लो समयमा अघोषितरुपमा मुलुकभर लोडसेडिङ बढाइएको भन्दै उपभोक्ताहरुबाट विरोध हुँदै आएको छ ।

मर्मतको कारण कथमकदाचित प्रणालीमा कुनै समस्या आएमा विद्युत आपूर्ति कहींकतै कुनै समय अवरुद्ध हुन सक्ने घिसिङले तर्क गरेका छन् । उनी भन्छन, ‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत गृह पूर्ण क्षमतामा चलाउने लगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं ।’

घिसिङकाअनुसार, कुलेखानी जलाशयमा पानीको सतह एक हजार ५२१ द्यशमलव ९८ मिटर रहेको देखाउँदै प्राधिकरणले यो गतवर्षको यही अवधिको भन्दा करिव तीन दशमलव ८३ मिटर बढी पानी कुलेखानीमा रहेकोले उक्त आयोजना चलाएर मध्यमस्र्याङदीको विजुलीको अभाव पूर्ति गर्न बताएको छ ।

मध्यमस्र्याङदीको बाँधको बायाँतिरको भागमा पानीले हिर्काएर खोतल्दा पहिले बनाइएको संरचनामा क्षतिपुगेकोले थपक्षति हुन नदिन मर्मत गर्न लागिएको जनाइएको छ । उक्त आयोजनाका प्रमुख पशुपति गौतमको भनाई उदृत गर्दै प्राधिकरणले भनेको छ, ‘गतवर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडिसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो । यस वर्ष पनि गरिएन भने थप क्षतिपुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्ने गरी एलडिसीबाट सट डाउन गरिएको हो ।’

उक्त आयोजनाबाट साँझ र बिहान (पिकआवर)मा ७० मेगावाट र अन्य समयमा करिव ३० मेगावाट विद्युत उत्पादन हुन्छ । मध्यमस्र्याङदी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो ।

Advertisement

Advertisement

Advertisement