काँग्रेस संसदीय दलको नेता देउवा होइन, शशांक हुनुपर्छः कल्याण गुरुङ

Advertisement

काठमाडौंः कांग्रेसका युवा नेता कल्याण गुरुङ्ले पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा सर्वसम्मतिमा चयन हुने अवस्था नरहेकोले महामन्त्री डा. शशांक कोइरालालाई बनाउनुपर्ने तर्क अघि सारेका छन् ।

रिपोर्टर्स क्लवमा आइतबार उनले सर्वसम्मति भए शशांकलाई र निर्वाचन लड्ने अवस्था आए प्रकाशमान सिंहलाई अघि सार्ने रामचन्द्र पौडेल पक्षको योजना रहेको सुनाए । गुरुङले निर्वाचनमा प्राप्त भएको जनमतले पार्टी सभापति शेरबहादुर देउवालाई दलको नेता बन्ने अवस्था नरहेकोले दलको नेतामा देउवा उठ्न नहुने धारणा राखे ।

उनले भने, ‘संसदीय दलको नेतामा देउवाजी सर्वसम्मती बन्ने अवस्था छैन, बरु सर्वसम्मतीको लागि शशांक कोइराला अघि सर्नुपर्छ भन्ने हाम्रो आग्रह छ, चुनाव लड्ने हो भने प्रकाशमान सिंहजीले आँफै उठ्छु भन्नुभएको छ ।’

त्यस्तै, गुरुङले देउवाले संसदीय समिति पनि पार्टीको विधानभन्दा बढि संख्याको बनाएको र कार्यसम्पादन समिति पनि विधानभन्दा बढि बनाएको गुनासो पोखे । उनले अहिलेको माहोल अनुसार संसदीय दलको नेतामा नयाँ मान्छे आउनुपर्ने अवस्था रहेको बताए ।

गुरुङ्ले एमाले र माओवादी केन्द्रबीच एकता होस् भन्ने पक्षमा आफूहरु रहेकोले अबको पाँच वर्ष आफूहरु जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भएर लाग्ने स्पष्ट पारे । उनले भने, ‘अबको पाँच वर्ष हामी सशक्त प्रतिपक्षको रुपमा उभिन्छौं, सरकारले गरेका राम्रा कामहरुको समर्थन गर्छौं, गुण र दोषका आधारमा हामी समर्थन गर्छौं ।’

ओली नेतृत्वको सरकार भर्खरै बनेकोले यसलाई हनिमुन पिरियोड सकिएपछि सरकारको बारेमा सोच्ने गुरुङको भनाई थियो । उनले भने, ‘विगतमा एमालेले ०४८ सालमा कांग्रेसका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई हनिमुन पिरियोड पनि मनाउन दिएन, तर हामी त्यो अवस्थामा छैनौं ।’

Advertisement

Advertisement

Advertisement