जनताको समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भयो: प्रधानमन्त्री ओली

Advertisement

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने बताएका हुन् ।

नेपाली जनताले लामो समय देखि अपेक्षा गरिरहेको राजनैतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउदै ओलीले यसका लागि हाम्रा शुभ चिन्तक, सहयात्री सम्पूर्ण स्वदेशी एवं विदेशी मित्रहरुको सहभागिता र सहयोगक आबश्यकता रहेको बताए ।

ओलीले आज जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र, संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तन सहितको नेपालको संविधान नेपाली जनताका प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको भन्दै तीनवटै तहको निर्वाचन सम्पन्न भई प्रत्येक तहका सरकार गठनको चरणमा प्रवेश गरिएको बताए ।

सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकास मार्फत “सुखी नेपाली र समृद्ध नेपाल” को लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भएको पनि ओलीले बताए ।

‘जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवं हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, िस्थरता, विकास र समृद्धि अवको हाम्रो कार्यदिशा हुनेछ’, सम्बोधनमा ओलीले भने, ‘ हाम्रो शासकीय मूल्य मान्यता, संविधानले अंगिकार गरेको दर्शनलाई जनताले अनुभूत गर्ने गरी रुपान्तरण एवं बढोत्तरी गर्ने समय आएको छ । मुलुकको विकास, प्रगति र समृद्धिको लागि आ–आफ्नो कर्म क्षेत्रबाट उठेर देश विकासमा लाग्न स्वदेश तथा विदेशमा रहने सवै नेपाली दाजुभाई तथा दिदी वहिनीहरुलाई म हार्दिक आव्हान गर्दछु ।’

ओलीले सवै राजनीतिक दलहरु र आम नेपाली जनतासँग साझा संकल्प गर्दै राजनीतिक परिवर्तनको युगबाट मुलुकको आर्थिक परिवर्तन, समृद्धि, सुशासन र सामाजिक न्यायको युगको यात्रा सँगसँगै शुभारम्भ गर्न हातेमालोका लागि अपिल समेत गरे ।

Advertisement

Advertisement

Advertisement