एमाले-माओवादी केन्द्र सहमति नजिक, पार्टी एकता संयोजन समिति एकताको खाका कोर्दै

Advertisement

काठमाडौंः एमाले माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति निर्णायक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेकाले आजै एकताको टुँगो लाग्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित संयोजन समितिको बैठकले आजै एकताको घोषणा गर्नसक्ने संभावनासमेत रहेको छ ।

बैठकमा एमालेका तर्फबाट नेताहरु माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम सहभागी छन् भने माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन्।

शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान टु वान’ वार्तापछि एकता संयोजन समिति बैठक बसेको हो। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा नमिलेका धेरै विषय मिलेकाले एकताको अन्तिम खाका तयार गर्न समितिको बैठक बसेको हो ।

पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाँकिएको भन्दै एमाले र माओवादीका नेताहरुले अब कुनै विवाद नभएकाले आजै एकता हुनसक्ने बताएका छन् ।

माओवादी नेता मणि थापाका अनुसार यसअघि जुन कुरा मिलेको थिएन, त्यो मिलिसकेकाले अब एकताले नयाँ गति लिने बताएका छन् । उनले नमिलेको सैद्धान्तिक विषयलाई महाधिवेशनबाट टुङ्याइने बताए। थापाले भने, ‘आज साँझ ७ बजे बैठक बसेर सबै कुरा टुग्याइने छ, सैद्धान्तिक विषय महाधिवेशनमा टुङ्गो लाग्नेछ।'

एकीकृत पार्टीको दुई अध्यक्षले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्ने विषयमा सहमति जुटेको छ । बेलुका ७ बजे हुने सहमतिपछि माओवादी केन्द्र पनि सरकारमा सहभागी हुनेछ।

Advertisement

Advertisement

Advertisement