फागुन ११ देखि भृकुटीमण्डपमा 'बंगलादेश एक्स्पो', पाँच दिनसम्म चल्ने

Advertisement

काठमाडौंः नेपालस्थित बंगलादेशी दूतावासको आयोजनामा यही फागुन ११ गतेदेखि १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बगलादेश बिजनेश फोरम आयोजना हुने भएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने बंगलादेशी मेलाले नेपाल र बंगलादेशबीचको व्यापारिक साझेदारी र सम्बन्धलाई बढाउन सहयोग गर्ने आशा राखिएको छ । मंगलबार पत्रकार सम्मेलन गरेर प्रर्दशनीबारे जानकारी दिइएको हो ।

नेपाली बजारमा बंगलादेशमा उत्पादन भएका वस्तुहरुलाई चिनाउन महत्वपूर्ण सहयोग हुने भन्दै नेपालको लागि बंगलादेशी राजदूत मास्फी बिन्ते शाम्सले भनिन्, ‘यो मेला आयोजना गर्नुको मुख्य उद्देश्य नै बंगलादेशमा उत्पादन भएका वस्तुहरु नेपाली व्यवसायी र उत्पादकहरुमाझ चिनाउनु हो, हामी यो मेला आयोजना गर्न पाउँदा खुशी छौं ।’

उनले यो मेलाले बंगलादेशका उद्योगी तथा व्यवसायीहरुलाई पनि नेपालको ठूलो बजारमा चिनिन टेवा पुग्ने बताउँदै थपिन, ‘नेपाल र बंगलादेशबीच भएको व्यापारिक सम्बन्धले दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन र उन्नत बनाउन भूमिका खेलेको छ, हामी दुवै देशले सामाजिक–आर्थिक विकास र आगामी समृद्धिको लागि सँगै मिलेर काम गर्नुपर्छ ।’

मेलामा बंगलादेशमा उत्पादित विशेषगरी निर्माण सामग्री, फर्निचर, जुटसम्बन्धी सामग्री, रेडिमेट गार्मेन्ट, सारी, महिलासम्बन्धी वस्त्रहरु, प्लाष्टिकका उत्पादनहरु, कस्मेटिक्स, छालाका उत्पादनहरु, फुटवेयर, सुचना प्रविधिसम्वन्धी उपकरण, शैक्षिक सामग्रीहरु, व्याट्री, मोटरसाइकल, गरगहना राखिनेछन् ।

मेलामा आर्ट एक्जिविजन पनि हुनेछ । जसमा २३ जना बंगलादेशका कलाकारहरुको स्थानीय संस्कृति झल्काउने जीवन्त तस्विरहरु राखिनेछन् । बंगलादेशी दूतावासका अनुसार उक्त मेलामा केही निश्चित नेपाली निर्यातकर्ताहरुलाई पनि नेपाली सामग्रीहरु प्रर्दशन गराउन निम्तो दिइएको छ । यसले नेपाली सामग्रीहरु बंगलादेश निर्यात गर्न मद्दत पुग्नेछ ।

दूतावासले यो मेला सूचना तथा नयाँ विचारहरु आदान–प्रदान गर्न नयाँ प्लेटफर्म हुने भन्दै दुई देशबीच विचार तथा सुचना आदानप्रदान, दुवै देशका उद्योगी व्यवसायीहरुबीच बि–टु–बि लिंकेज बढाउन अवसर जुर्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement