पत्रकार कुट्ने एनआरएनए कुवेतका अध्यक्ष तामाङले दिए राजीनामा

Advertisement

काठमाडौँ: पत्रकारलाई कुटेर घाइते गराएको आरोपमा गैरआवासीय नेपाली संघ कुवेतका (एनआरएनए) अध्यक्ष अर्जुन तामाङले बुधवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय समितिले तामाङलाई निलम्बन गरी बर्खास्त गर्ने तयारी गरिरहेको थियो ।

नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण गरेर विवादमा तानिएका तामाङलाई तत्काल कारबाही गर्न एनआरएनए आससीसीमाथि अन्तर्राष्ट्रिय दबाब परेको थियो ।

घटनामा आफ्नो गल्ती भएको भन्दै तामाङले पदबाट राजीनामा दिएका छन् । घटनाको आफूले नैतिक जिम्मेवारी लिने तामाङले बताए । कुवेतस्थित नेपाली समाजका अगुवाले न्यौपाने र तामाङ पक्षवीच मंगलबार नेपाली दूतावासमा सहमति गराएका छन् । नेपाली समुदायको अनुरोधअनुसार मिलापत्र गरेको अध्यक्ष न्यौपानेले बताए ।

कुवेतमा घरेलु महिला कामदार ल्याउने धन्दा गरी बसेका सिन्धुपाल्चोकका तामाङले सन २०१५ देखि एनआरएनएको नेतृत्व गर्दै आएका छन् । कुवेतले घरेलु कामदार आपूर्ति कार्यलाई वैधता दिएपनि नेपालमा भने यो अवैध मानिन्छ ।

तामाङको आक्रमणबाट न्यौपानेको नाक, निधार र मुखमा चोट लागेको थियो ।

न्यौपाने कुवेतमा ‘मरुभुमिको कोशेली’ पत्रिका र अनलाइन सञ्चालन गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement