दहचौक पुगेर ओलीले कालु पाण्डेलाई सम्झिए, ‘पाँडेको समाधिस्थललाई पर्यटकीय बनाउछु’

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन् ।

बुधबार इन्द्रदह एकीकृत पर्यटन विकास समितिले आयोजना गरेको ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’मा उनले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पुर्याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताए ।

‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ”–उनले भने, ‘‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवद्र्धन गर्न जरुरी रहेको छ ।”

ओलीले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गरे । उनले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राखे । ओलीले दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद रमा आलेमगर र चन्द्रागिरि नगरपालिकाका प्रमु्ख धनराज गिरीले काठमाडौँदेखि नजिक रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।

नागरिक उड्डयन तथा पर्यटन सचिव कृष्ण देवकोटा, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, चन्द्रागिरि नपा वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीले बोलेका थिए । कार्यक्रममा ओलीले सोही ठाउँमा रहेको कालु पाँडेको समाधिस्थलमा माल्यार्पणसमेत गरे । कालु पाँडे घाइते भएका बेला ‘गोरखाको मनकामना मन्दिर देखिने ठाउँमा आफूलाई समाधिस्थ गर्नू’ भनेपछि उक्त ठाउँमा कालु पाँडेलाई समाधिस्थल गरिएको थियो ।

यसैगरी, प्रधानमन्त्री ओलीले उक्त ठाउँमा गोरखा, धादिङ र नुवाकोट देखिने गरी चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न थालेको भ्यू टावरको पनि शिलान्यास गरे । करिब रु ३० लाखको लागतमा निर्माण हुन थालेको भ्यू टावर पाँच तले हुनेछ ।

Advertisement

Advertisement

Advertisement