विदेश मोह छाडेर अलैँचीको व्यावसायिक खेतीतर्फ तेह्रथुमका एक युवा

alaichi-kheti

तेह्रथुमः विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव भोगेर आएकालाई मात्र थाहा हुन्छ । बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बोकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन् ।

त्यही कोटीमा उभिएका छन्, फेदाप गाउँपालिका–२, ओयाक्जुङका ४० वर्षीय खगेन्द्र जोगी । पर्याप्त कमाउने दाउमा लाखौँ रुपियाँ ऋण काढेर विदेश गएका जोगी अहिले गाउँ फर्किएर व्यावसायिक खेतीमा लागेका छन् ।

nic-asia-ad

“ऋण काढेर विदेशिए, दुबईमा दुई वर्ष बस्दा सबै कुरा चेतेँ”, उनी भन्छन्, “सहजै कमाउँछु भन्नेले विदेश नजानु ।”

उनले भने, “यहाँ गाउँमा काम गर्छुभन्दा ठाउँ जति पनि छ, विदेशमा काम गर्छुभन्दा न काम पाइन्छ, न त समयमै काम गरेको पारिश्रमिक नै ।” परिवारदेखि टाढा बस्नुको पीडाले परदेशमा हुँदा धेरै पिरोलेको जोगीले बताए । विदेशमा गर्ने जति मेहनत आफ्नै माटोमा गरे पर्याप्त आम्दानी गर्न सकिने उनको भनाइ छ । उनले गाउँमै बसेर वार्षिक १० लाख रुपियाँभन्दा बढी कमाइ गर्छन् ।

चार वर्षअघि जोगीले २६ हजार अलैँचीका बिरुवा खरिद गरेर खेती थालेका थिए । शुरुमा खेती थाल्दा दुई लाख रुपियाँ लगानी गरेको उनले बताए । “अलैँचीका बिरुवा इलामबाट खरिद गरेँ, गाउँमा अलैँचीका बिरुवाको माग धेरै छ, यहीँ बिरुवा उत्पादन गर्न सके मनग्य आम्दानी हुन्छ,” उनले भने ।

सिंगो गाउँ नै अलैँची खेतीमा आश्रित छ । जोगीजस्ता धेरै किसानले अलैँची खेती गरिरहेका छन् ओयाक्जुङमा । “मैले यसवर्ष १० मन अलैँची बिक्री गरेँ, राम्रै कमाइ छ”, उनी भन्छन्, “अलैँची खेतीमा मेहनेत गर्न सके पर्याप्त फाइदा लिन सकिन्छ ।”

धान फलाउन जति मेहनत गर्नुपर्छ, अलैँचीमा त्यति मेहनेत पर्दैन । आफूले लगाएको बगानमा दुई वर्षपछि २० मन बढी अलैँची उत्पादन हुने जोगीको विश्वाश छ । “यतिका जमिनमा अलैँची खेती छ, अहिले एक्लैले भ्याएको छु, टिप्न र भट्टी लगाउनमात्रै साथी चाहिन्छ, बाँकी सबै आफैँ गर्छु”, उनले भने ।

बेमौसममा पनि अलैँची मर्न लागेकाले हेरचाह गर्ने, मरेकामा नयाँ बिरुवा रोप्ने, पानी लगाउने, फाँड्ने, गोडमेल गर्नेलगायत काम उनी आफैले गर्छन् । अलैँची खेती कसरी गर्ने र आधुनिक प्रविधि के हो भन्नेबारे खासै जानकारी नभएको जोगीको भनाइ छ ।

अलैँची सुकाउन जोगीसँग आधुनिक भट्टी छैन । परम्परागत रुपमा बनाइएको भट्टी पनि जंगलमै छ । भट्टी लगाउँदा साता दिनसम्म जंगलमै बस्नुपर्छ । “जंगलमा बसेर अलैँची सुकाउँदा सर्प, जंगली जनावर र चिसो समस्या हुन्छ,” उनले भने । आधुनिक भट्टी गाउँमा ल्याएर प्रयोग गर्नेबारे आफूलाई जानकारी नभएको उनी बताउछन् ।

खोल्सीको कालो सुन उपनामले परिचित पूर्वी नेपालको मुख्य नगदेबाली अलैँचीको बजारभाउमा आइरहने उतारचढावले कसान निराश बनेका छन् । “बजारमा आउने समस्याबारे सरकारले चासो लिनुपर्छ,” जोगीले भने । किसानलाई प्रतिमन ३० हजार रुपियाँ मात्रै हात लागे पनि घाटा नहुने उनको भनाइ छ । उनले अहिले १५ रोपनी जमिनमा अलैँची खेती लगाएका छन् । करिब पाँच रोपनीमा नयाँ बगान छ भने बाँकी क्षेत्रमा उत्पादन दिन थालेको बगान छ ।