सञ्चयकर्ताका लागि रसुवागढी र साञ्जेनको आइपिओ भोलीदेखि खुल्दै

Advertisement

काठमाडौंः पहिलो चरण अन्तर्गत सञ्चयकर्ताका लागि रसुवागढी र साञ्जेनको साधारण सेयर (आइपीओ) भोली शुक्रबारबाट खुल्ने भएको छ । दुई जलविद्युत आयोजनाले भोलीदेखि एकसाथ दुई अर्ब ५१ करोड ६० लाख रुपियाँ बराबरको आइपिओ निष्कासन गर्न लागेका हुन् ।

दुवै कम्पनीको आइपीओमा सञ्जयकोषका कर्मचारीले, कर्मचारी सञ्चय कोषमा कोषकट्टी गर्दै आएका छ लाखभन्दा बढी सञ्चयकर्ताले, रसुवा जिल्लको साविक कर्मचारीले र रसुवामा समन्वय समितिमा कार्यरत कर्मचारीहरुले आवेदन दिन सक्नेछन् ।

दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी सेयरका लागि आवेदन दिन पाउने छन् । सञ्चयकर्ताले साञ्जेनमा ३०० कित्तासम्मको सेयरमा आवेदन दिन सक्नेछन् । रसुवागढीका लागि बढीमा ५०० कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्मको सेयरका लागि आवेदन दिन सक्ने बताइएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीले एक अर्ब ६४ करोड रुपियाँ बराबरको साधारण सेयर निष्कासन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

रसुवागढी हाइड्रोको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटल रहेका छन् । सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल, सिद्धार्थ क्यापिटल र एनआइबिएल क्यापिटल रहेका छन् ।

रसुवागढीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कूल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना सन् २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । कूल १३ अर्ब ६८ करोड रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चयकोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३ दशमलव ५ प्रतिशत एवं सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले ८७ करोड ६० लाख रुपियाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

दुवै कम्पनीको सेयर ‘सेन्ट्रल आश्वा अर्थात् सी आश्वा’ प्रणालीबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

Advertisement

Advertisement

Advertisement