फोरम र राजपालाई उनीहरुको सर्त मानेर सरकारमा सहभागी गराउन नसकिने

Advertisement

काठमाडौंः नेकपा एमालेका नेता रघुवीर महासेठले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई उनीहरुको सर्त मानेर सरकारमा सहभागी गराउन नसकिने बताउका छन् । उनीहरु बिना शर्त आए सरकारमा सहभागी गराउन सकिने उनी बताउँछन् ।

शनिबार रिपोर्टर्स क्लबमा महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न लचक रहेको भन्दै तर सर्त मानेर फोरम र राजपा सरकारमा सहभागी गराउन नसकिने बताए । उनले भने, ‘उहाँहरु बिना शर्त सरकारमा पहिले आउनुपर्यो, यदि उहाँहरुको समस्या समाधान भएन भने उहाँहरु पछि फर्किन पनि सक्नुहुन्छ ।’

महासेठले आफूहरुले फोरम र राजपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा ‘खाए खा नखाए घिच’ को व्यवहार भने नगरेको स्पष्ट पारे । उनले आफूहरु देश र जनताको हितमा संविधान संशोधन गर्न तयार रहेको बताए ।

महासेठले आफूहरुले २ नम्बर प्रदेश सरकारलाई विना शर्त सहयोग र समर्थन गरेको प्रसँग उल्लेख गर्दै भने, ‘हामीले २ नम्बर प्रदेशमा उहाँहरुको नेतृत्वमा रहेको वर्तमान सरकारलाई विना शर्त समर्थन गर्यौं, मधेसमा विकास होस्, शान्ति, सुरक्षा, अमनचयन कायम होस्, आर्थिक सम्पन्नता हाँसिल होस् भनेर नै एमाले–माओवादीका सांसदहरुले उहाँहरुलाई मत दिएका हुन् ।’

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार मुलुकको राष्ट्रिय ढुकुटी करिब करिब रित्तिएको अवस्थामा गठन भएको सुनाउँदै भने, ‘हो, राष्ट्रिय ढुकुटी समाप्त भएको बेला बोज उठाउन हाम्रो अध्यक्ष ओलीजीको नेतृत्वमा सरकार गठन भएको छ, हामीले सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी गरिसकेका छौं, आउने साताभित्रै प्रधानमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिनुहुन्छ ।’

महासेठले मन्त्रिमण्डल विस्तारमा ढिलाई हुनुमा खास कारण केही नभएको जिकिर गरे । उनले भने, ‘एमाले र माओवादीबीच एकता भैरहेको छ, केही प्राविधिक कामहरु द्रुत गतिमा भैरहेका छन्, नवगठित कार्यदलहरु आफ्नो काममा व्यस्त छन् ।’

वाम गठबन्धन नेतृत्वको वर्तमान सरकारले एक वर्षभित्रै मुलुक र जनतालाई केही अनुभुति दिलाउने गरि काम गर्ने उनको दाबी थियो । महासेठले भने, ‘वाम गठबन्धनको सरकारले देश विकासमा केन्द्रित भएर काम गर्छ, सम्भवत् यही आउने चैत्रभित्रै हामी दुवै पार्टीबीच एकता घोषणा हुन्छ, त्यसपछि सरकारको कामको गति द्रुत हुन्छ ।’

Advertisement

Advertisement

Advertisement