बधाई दिन आएका व्यवसायीलाई ओलीले भने- टेबुलपिच्छे फाइल अलमलिने प्रथा अब अन्त्य हुन्छ

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए ।

उनले भने, “सरकारी कार्यालयका टेबुलपिच्छे फाइल अलमलिने प्रथा अब अन्त्य हुन्छ । सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा उचित छानबिन हुन्छ ।”

ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारे । उनले भने, “भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुँदैन, स्थिर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।”

आर्थिक लनदेनका आधारमा अनुमति लिनेदिने, समयमा काम नसक्ने, बिना कारण म्याद थप्ने र थपाउनेलाई तत्काल कारबाही गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । उद्योगी, व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गरे ।

नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै उनले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए ।

यसैगरी आजै गैरआवासीय नेपाली संघ (एनआरएनए)को बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउनेबाहेक आफ्नो अरु कुनै उद्देश्य नरहेको स्पष्ट पारे ।

देश विकासका लागि एनआरएनएकोे भूमिका महत्वपूर्ण हुने भन्दै त्यसमा भूमिका खेल्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement