घरजग्गा कारोबारमा लगाम कस्ने डा. खतिवडाप्रति धेरैको आशा

Advertisement

काठमाडौँ । घरजग्गाको मौलाउँदो व्यापारमा लगाम लगाएर अर्थतन्त्रलाई सही गति दिन सफल भएका तत्कालिन गर्भनर युवराज खतिवडा केपी ओली नेतृत्वको संभवतः स्थिर सरकारको अर्थमन्त्री नियुक्त हुन सफल भएका छन् ।

डा. खतिवडाको नियुक्तिसँगै समग्र वित्तीय क्षेत्र, पुँजी बजार सही ढंगले अघि बढने र उनको अनुभव र विज्ञता आर्थिक विकासका लागि उपयोगी हुने आशा सामाजिक सञ्जालमा देखिएको छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका खतिवडाको अर्थमन्त्रीमा नियुक्तिले धेरैलाई आश्चर्यसँगै आशा पनि जन्माएको छ । राष्ट्रियसभा सदस्यमा मनोनित भएका उनको मनोनयन विवादमै रहे पनि प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयमा सही व्यक्ति छनोट गरेको भन्दै धेरैले ओलीलाई धन्यवादसमेत दिएका छन् ।

धेरैले एमाले नेताहरु इश्वर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडल, प्रदीप ज्ञवालीलाई संभावित अर्थमन्त्रीको रुपमा लिएको बेला प्रधानमन्त्रीले सबैलाई पन्छाएर खतिवडालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । एमालेनिकट खतिवडा उक्त पार्टीमा आर्थिक विषयका सबैभन्दा विज्ञ व्यक्तिका रुपमा चिनिन्छन् ।

ओली र एमालेलाई अर्थतन्त्र र नीतिगत विषयहरुमा सरसल्लाहसमेत दिँदै आएका खतिवडाले धर्मराउँदै अघि बढेको मुलुकको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन के कसरी भूमिका निर्वाह गर्नेछन् भन्ने चासो अहिले सबैमा देखिएको छ ।

राजनीतिक संक्रमणको स्थिति अन्त्य भई मुलुकमा आर्थिक विकासले गति लिने विश्वास गरिएको बेला राज्यको ढुकुटी सम्हाल्न आइपुगेका खतिवडाले पुँजी बजारमा देखिएको निराशाजनक स्थितिलाई सुधार गर्न, घरजग्गासहित अन्य अनुत्पादक क्षेत्रमा बढ्दै गएको लगानी नियन्त्रण गर्न, व्यापार घाटा न्यूनीकरण र निर्यात बढाउन, मुलुकमा लगानीमैत्री बाताबरण सिर्जना गर्न, कालोधन नियन्त्रण गरी कारोबारलाई पारदर्शी बनाउन, कर छली नियन्त्रण गर्दै राजश्वको दायरा बढाउन गहन भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

विगतमा राजनीतिक पृष्ठभूमि व्यक्तिहरु अर्थमन्त्री हुने परम्परालाई तोड्दै ओलीले आर्थिक क्षेत्रका जानकार खतिवडालाई राज्ने कुराले वित्तीय सुधार मात्रै नभएर, संघीयतामा देखिएको स्रोत व्यवस्थापनको चुनौतिलाई व्यवस्थापन गर्न पनि सहज हुने आशा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement