एनआइसी एसियाले बचत खातामै अब १० प्रतिशत ब्याज दिनेगरी ल्यायो ‘समुन्नति प्लस बचत खाता’

nic_asia_logo

काठमाडौंः एनआइसी एसिया बैंकले ग्राहकहरुलाई उच्च लाभ पुर्याउन भन्दै उच्च ब्याजदरसहितको ‘समुन्नति प्लस बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खातामा बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गरिने जनाइएको छ ।

यसअघि ‘समुन्नति बचत खाता’ र सर्वाधिक ब्याजदरका साथ ‘समुन्नति मुद्दती खाता’ सञ्चालनमा ल्याइसकेको एनआइसी एसियाले अहिले ‘समुन्नति प्लस बचत खाता’ सञ्चालनमा ल्याएको हो । यो खाता पनि उत्तिकै लोकप्रिय हुने र ग्राहकले बढिभन्दा बढि लाभ लिनसक्ने बैंकले विश्वास लिएको छ ।

nic-asia

नेपालको बैंकिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस बैंकले ‘समुन्नति बचत खाता’ र ‘समुन्नति मुद्दती खाता’ लोकप्रिय भएपछि यो योजना सार्वजनिक गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले बताए ।
‘हाम्रो समुन्नति राष्ट्र कै उन्नती, आजैदेखि बचत गरौं है साथी’ नाराका साथ सार्वजनिक गरिएको यस बचत खातामा न्यूनतम् मौज्दात १० हजार रहनुपर्ने छ भने उक्त खाता खोल्ने ग्राहकले लकर सुविधामा ५० प्रतिशत छुट पाउनेछ ।

साथै, निःशुल्क मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता खोल्न पाउने सुविधा पनि यस खाता खोल्ने ग्राहकले पाउनेछन् । त्रैमासिकरुपमा ब्याज प्रदान गरिने यस खातामा निःशुल्क डेबिट कार्ड पनि उपलब्ध गराइने बैंकले जनाएको छ ।