'मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्'

Advertisement

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।

“भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,” मन्त्री यादबले भने ।

“अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उनले भने ।

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उनले बताए ।

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गरे ।

उनीहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताए ।

को हुन् मातृका यादव

विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विसं २०३६÷०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने ।

विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बनेका मन्त्री यादब त्यसपछि भूमिगत जीवन बताए । उनी चौम (चौथो महाधिवेशनका पोलिटब्यूरो सदस्य (पिबिएम) समेत भए ।

जेल जीवन र लामो संघर्ष भोग्नुभएका उनले विसं २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय हुनुभयो । विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बने ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय हुनुहुन्थ्यो । विसं २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बने ।

अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बनेका उहाँ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए । विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । पार्टीबाट अलग भई सभासद्बाट पनि राजीनामा दिएर उनी २०६५ माघ २९ गते माओवादी पुनःगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर आन्दोलनमा अघि बढे ।

यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि मधेशको इञ्चार्ज पनि हुनुभयो । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिन्छन् ।

उहाँ माओवादी केन्द्रका तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रिमण्डलमा सहभागी भएको छ । मन्त्री यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आइएड) सम्मको शिक्षा हासिल गरेका छन् ।

Advertisement

Advertisement

Advertisement