अर्थ र उद्योगमन्त्रीलाई निजी क्षेत्रको स्वागत, लगानीको बाताबरण र आर्थिक विकासलाई गति दिन आग्रह

Advertisement

काठमाडौंः निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको टोलीले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडासँग बुधबार भेट गरी बधाई तथा शुभकामना दिएको छ । भेटमा व्यवसायीको टोलीले मुलुकमा लगानीमैत्री बाताबरण बनाउन अर्थमन्त्री सफल हुने आशा व्यक्त गर्यो ।

महासंघकी अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री खतिवडाका साथै नवनियुक्त उद्योग मन्त्री मात्रिका यादव पनि छुट्टै भेट गरी छलफल गर्यो ।

दुवै भेटमा व्यवसायीहरुले मुलुकको आर्थिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, लगानीका अवरोधहरु घटाउन आग्रह गरेका थिए । प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर
गोल्छा, निवर्तमान अध्यक्षहरु पशुपति मुरारका, चण्डिराज ढकाल, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र ढकाल, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेशमान श्रेष्ठ सहभागी थिए ।

अध्यक्ष राणाले अर्थतन्त्रको अवस्था कमजोर भएको वेलामा अनुभवी अर्थमन्त्री पाउँदा निजी क्षेत्र उत्साहित भएको भन्दै अर्थ मन्त्रालयले अब छिट्टै आशा लाग्दा कार्यक्रमहरू ल्याउने विश्वास गरिन ।

डा. खतिवडाले पदवहालीको क्रममा व्यक्त पाँचवटा प्रतिवद्धतालाई सफल रूपमा कार्यान्वयन गर्न महासंघको सहयोगको अपेक्षा गरेको बताए । समृद्धिको मूल आधार भनेकै निजी क्षेत्र हो भन्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

खतिवडाले साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए ।

यसैगरी, उद्योग मन्त्री यादवले मुलुकभित्र औद्योगिक विकासमा आफूले सक्दो प्रयास गर्ने र उक्त विकासमा निजी क्षेत्रको सहयोगको आवश्यकता पर्ने बताए ।

Advertisement

Advertisement

Advertisement