उर्जामन्त्री आउनुअघि नै सक्नेगरी विद्युत प्राधिकरणमा भकाभक सरुवा

Advertisement

काठमाडौंः सरकार परिवर्तन भइरहँदा नेपाल विद्युत प्राधिकरणमा भकाभक कर्मचारी सरुवा गरिएको छ । नयाँ उर्जामन्त्री आउनुअघि नै सक्नेगरी सुरु भएको कर्मचारी सरुवामा विभेद र आर्थिक चलखेल भएको भन्दै विरोध सुरु भएको छ ।

केपी ओली नेतृत्वको सरकार बन्नुअघि नै दुई दर्जनाभन्दा बढि कार्यालय प्रमुखहरुलाई सरुवा गरिएको थियो भने त्यसपछि जिएम र निर्देशकहरु सरुवा गरिएको छ । प्राधिकरणको कर्मचारी विनियमअनुसार प्रशासन र लेखा प्रमुखहरुको सरुवा गर्ने बेला भए पनि उनीहरुलाई भने नयाँ मन्त्री आएपछि सरुवा गर्ने भन्दै रोकेर राखिएको प्राधिकरणका एक कर्मचारीले बताए ।

उनका अनुसार कामको मूल्याकंनका आधारा नभएर ज–जसले आफूलाई चाकडी गर्दै आयो र ज–जसले कमिशन दिए, उनीहरुलाई छानी छानी राम्रो ठाउँमा सरुवा गर्ने काम भएको छ । प्राधिकरणका उपकार्यकारी निर्देशक सुनिल ढुँगेललाई ग्राहक तथा बितरण निर्देशनालयबाट हटाएर हरेराम न्यौपानेलाई उक्त ठाउँमा ल्याउने काम भएको छ । ढुँगेललाई उत्पादन निर्देशनालयमा सरुवा गरिएको छ ।

त्यसैगरी कुनै पनि वितरण केन्द्रमा राख्दा पनि काम गर्न नसकेर छ महिना पनि नटिक्ने तर पैसाको चलखेलका आधारमा आकर्षक ठाउँमा बस्दै आएका ओमप्रकाश महतोलाई प्रदेश नं. २ कै निर्देशक बनाउने काम भएको छ । बढुवा भएकाहरुलाई पदअनुसार पोष्टिङ गर्नुपर्ने नियम भए पनि उनीहरुलाई बधाईको चिट्ठी दिँदै जहाँको तहीं काम लगाइराखिएको प्राधिकरणका कर्मचारीहरुको गुनासो छ ।

विनियमअनुसार कामको मूल्यांकन गर्दै सरुवा गर्नुपर्नेमा निहीत स्वार्थका लागि सरुवा गर्दा कर्मचारीहरुको मनोबल गिरेको प्राधिकरणको कर्मचारी संघसम्वद्ध एक कर्मचारीले बताए । उनले विगतमा विद्युत चोरको आरोप लगाउँदै एकैपटक एक हजार पाँचसय भन्दा बढि ग्राहक तथा वितरणअन्तर्गतका कर्मचारीलाई मात्रै सरुवा गर्दा उनीहरुको मनोबल गिरेको र अहिले पनि आफूअनुकुलको उर्जामन्त्री आउने नदेखिएपछि व्यवस्थापनले हतार हतार कर्मचारी सरुवा गर्ने काम गरेको आरोप लगाए ।

Advertisement

Advertisement

Advertisement