काँग्रेस युवाहरुको राष्ट्रव्यापी जागरण अभियान नेपालगञ्ज आइपुग्यो

Advertisement

नेपालगञ्जः कांग्रेस निकट युवाहरुले अघि बढाएको युवा जागरण अभियान नेपालगञ्ज आइपुगेको छ । काँग्रेस युवा नेता एवं सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पुत्र चिन्तनको नेतृत्वमा अघि बढेको यस अभियान नेपालगञ्ज आइपुगेको हो ।

राजनीतिमा युवाहरुको आकर्षण बढाउन, आर्थिक विकास, समृद्धि र सुशासनका लागि राज्यलाई खबरदारी गर्न युवा जागरण अभियान सुरु गरिएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यस अभियानका संयोजक पौडेलले बताए ।

युवाहरुमा चुलिएको राजनीतिक वितृष्णालाई कम गर्न, उनीहरुलाई मोटिभेशन गर्न, काँग्रेसभित्रका विकृतिहरु न्यूनीकरण गर्दै लैजान विभिन्न तह र तप्काका युवाहरुलाई समाहित गरेर जागरण अभियान सुरु गरिएको उनले बताए ।

काँग्रेस कमजोर हुनुमा पार्टीभित्रको गुटबन्दी, विचार र योगदानका आधारमा भन्दा पनि आर्थिक र राजनीतिक प्रभावका आधारमा व्यवहार गर्ने नेतृत्वको प्रवृत्ति प्रमुख कारण रहेको भन्दै पौडेलले जनभावनाअनुसार नेतृत्वले विचार प्रवाह र नाराहरु दिन नसक्दा जनतामा गैरलोकतान्त्रिक शक्तिहरुतर्फ आकर्षिक बनेको बताए ।

यद्यपि काँग्रेस नेपालको निर्विकल्प राजनीतिक शक्ति भएको उनले बताए । पौडेलले शैक्षिक गुणस्तर सुधार गर्दै सम्बृद्ध नेपाल निर्माणको उद्देश्य लिएर देशभर आफूहरुले अभियान सुरु गरिएको बताए । सामाजिक रुपान्तरणबाट मात्रै आर्थिक सम्बृद्धि सम्भव भएकाले त्यसैअनुरुपका प्रशिक्षण, अन्तरक्रिया लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बाँके कांग्रेसका युवा नेता टेकनारायण भुषाल, बाँके कांग्रेसका जिल्ला सदस्य सुधान्सु कोइराला, नेविसंघका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश ५ का संयोजक प्रकाश राना, नेबिसंघका केन्द्रिय कोषाध्यक्ष शिव रिमाल, केन्द्रिय सदस्यहरु सुशील तिमिल्सिना, पुनम लामा, अर्चना रेग्मी, एलिजा ढकाल, पवन नेपाली, अर्जुन बम सहभागी थिए ।

त्यस्तै, बाँके जिल्ला नेबिसंघ विद्यार्थी बिभाग प्रमुख माया पुन, सचिव चक्र रावत, चन्द्रप्रकाश देवकोटा, भरत खडका, कृष्ण गड़तौला, हरिश जोशी, उमेश भण्डारी, बबिता बम, लक्ष्मी तिमिल्सिनालगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement