होली र 'कलर थेरापी'

Advertisement

रंगको सिधा सम्बन्ध मानिसको मनसँग जोडिन पुग्दछ । रंगले मानिसको मनमा उत्साह, उमङ्ग, शिथिलता, शुद्धता आदि प्रदान गर्दछ । रंगहरुको प्रयोग अवस्थाअनुसार गर्ने गरिन्छ । पूर्वीय दर्शनले जीवनलाई कर्मयोगी, धार्मिक आध्यात्मिक, सामाजिक, भोगी, दानी, वैराग्य सबै सबै प्रकारको रंगले भरिएको हुने भनि मार्गदर्शित गरेको छ । त्यसैले यस संस्कृति अन्तर्गतको जीवन पद्धति हेर्ने हो भने सबै रंग यानेकी सप्तरंगले सजाउन खोजिएको छ जीवनलाई । वैदिक संकेतमा सूर्यलाई सात वटा घोडामा चित्रित गर्ने गरिन्छ । यसमा सूर्यबाट आउने सप्तरंग सहितको तेज किरणलाई अश्व यानेकी घोडा जस्तै तेज सहितको जीवनका रुपमा हेरिएको पाइन्छ । त्यसैले जीवनलाई सप्तरंगी रंगमा झल्काउने महत्वपूर्ण चाडमा पर्दछ होली ।

[caption id="attachment_46655" align="alignleft" width="249"]diwakar-panta लेखक[/caption]

होलीलाई फागुपूर्णिमा पनि भन्ने गरिन्छ । फागुनको शुक्ल पूर्णिमाका दिन यस चाड मनाइने भएकाले फागुपूर्णिमा भन्ने गरिएको हो । भारत लगायत नेपालको तराई क्षेत्रमा यसलाई विशेषत होली भनि भन्ने गरिन्छ । यसलाई सबै भौगोलिक क्षेत्रमा उत्तिकै उत्साहका साथ मनाउने गरिन्छ । हिन्दू संस्कृतिसँग प्रत्यक्ष रुपमा जोडिएको भए पनि यसमा सबै धर्म र क्षेत्रले उत्साहका साथ मनाउने गरेको पाइन्छ । यसको फैलावट विश्वभर हुन पुगेको छ ।

रंग र जीवन
जीवन सबै रंगको समिश्रण हो । यदि कालो नभई दिने हो भने सेतो रंगको अर्थ हुने थिएन । त्यसैले जीवन सुख र दुःखको मिश्रण पनि हो । दुःख नहुँदो हो त सुख भन्ने पत्तो हुने थिएन । त्यसैले जीवनमा रंगको प्रतिनिधित्व फिलिङस्सँग जोडिन पुगेको छ । खुशी, उमङ्ग र उत्साहमा रातो रंगको प्रयोग हुने गरेको छ । होली पनि आफैमा असत्यमाथि सत्यको विजयका रुपमा उत्सव मनाउँदै रातो रंगसहित अन्य रंगको उत्सव मनाउने गरिएको हो । विशेषत पूर्वीय सनातन वैदिक संस्कृतिमा उत्सवका बेला वा विजयका बेला रातो रंगको प्रयोग रहने गर्छ ।

सेतो रंगलाई शुद्धता, सफा तथा निश्चलताको प्रतिकका रुपमा लिने गरिन्छ । त्यसैले पूरानो चलनअनुसार ब्राम्हणहरुले खाना बनाउँदा र खाना खाँदा सेतो धोति लगाएर खाने गरेको पाइन्छ । आजभोली होटलका कुकले पनि सेतो एप्रोन र टोपी लगाउँछन् । यसको वैज्ञानिकता परापूर्व कालमा नै ऋषिमुनिहरुले पत्ता लगाई सकेका थिए ।

शोक यानेकी किरिया बस्दा यानेकी बरखी बस्दा पनि सेतो कपडा लगाउने प्रचलन रही आएको छ । यस भित्रको वैज्ञानिकतालाई स्वीकार गर्दै आजभोली स्वास्थ्य क्षेत्रमा वा ल्यावमा काम गर्ने कर्मचारीले सेतो एप्रोन लगाउने गरेको देखिन्छ । सेतो रंगभित्र पनि चम्किलो सेतो वा घिउ रंगको सेतो रंग प्रयोगमा रहन्छ ।

हरियो रंग धर्तीको रंग हो । हरियो रंगले प्रकृतिसँगको समन्वयलाई चित्रित गर्दछ । यो ब्रम्हाण्ड प्रकृतिको सतत नियममा मात्र अघि बढ्न सक्दछ । मानिसले प्रकृति विरुद्ध चालेको कदमलाई फेरि आफ्नै लयमा ल्याउन प्रकृतिको एक धक्का मात्र काफि हुन जान्छ । तसर्थ प्रकृतिप्रतिको आत्मसाथलाई हरियो रंगले प्रतिनिधित्व गर्दछ । हरियो रंग बुद्धि, चतुर्याईं र धुत्र्याईंको रंग पनि हो ।

पहेंलो रंग आफैमा सात्विक रंग हो । यसले ज्ञान भावलाई प्रतिनिधित्व गरेको हुन्छ । धार्मिक र आध्यात्मिक प्रतिनिधित्वमा पहेंलो रंगको प्रयोग भएको हुन्छ । ललाटमा लगाउने टिकामा केशरीको पहेंलो टिका र त्यससँगै अविरको रातो टिका, ज्ञान र उत्साहको प्रतिक तथा प्रतिविम्ब हो ।

कालो रंगलाई तुलनात्मक रुपमा नकारात्मकताको प्रतिविम्बका रुपमा लिने गरिन्छ । तथापि अवस्थाअनुसार यस रंगको प्रयोग शुभताका लागि पनि हुने गर्छ । नकारात्मक उर्जाका लागि यस रंगको प्रतिविम्ब राख्ने गरिन्छ । तथापि, सबै सन्दर्भमा कालो रंग अशुभताको प्रतिक भने होइन । कतिपय व्यक्तिलाई कालो रंग शुभ रहने अवस्था आउँछ ।
यी सबै प्रकारका आधारभूत रंगको मात्रात्मक मिश्रणबाट अन्य रंगको विकास हुने गर्छ । र ती रंगको प्रयोग गर्ने गरिन्छ । त्यसकारण, यी रंगको के कति मात्रा जीवनको गतिमा मिश्रण गर्यो ? सो अनुसारको प्रतिफल उक्त व्यक्तिको जीवनमा प्राप्त हुन्छ । त्यसैले जीवनलाई सप्तरंगले भरिएको सप्तरंगी जीवन भनिएको हो ।

कलर थेरापी
आजभोली विज्ञानको विकासका कारण सहजरुपमा एक अर्काे रंगको मिश्रणबाट विभिन्न वस्तुहरु बजारमा प्राप्त गर्न सकिन्छ । तर, सबै रंग एकै व्यक्तिलाई उपयुक्त नहुन सक्छ । कतिपय व्यक्तिका लागि निश्चित रंग शुभ हुन्छ भने कतिपय रंग अशुभ हुन्छ । त्यस्तो अवस्थामा शुभ रंगको प्रयोग बढाउनुपर्छ भने अशुभ रंगको प्रयोग घटाउनु पर्छ । कसैले पनि नकारात्मकता बढाउन चाहदैन भने सकारात्मकतामा वृद्धि गर्न चाहन्छ ।

यस्तो अवस्थामा आफूलाई शुभ हुने रंगका सामान घरमा राख्ने, शुभ रंग निवासमा वा कार्यालयमा वा व्यसायिक प्रतिष्ठानमा प्रयोग गर्ने, सवारीसाधनको रंगमा पनि ध्यान दिने, लुगा कपडाको रंगमा प्रयोग आदी जस्ता विषयमा ध्यान दिन सकिन्छ । शुभ रंगले उक्त व्यक्तिमा शुभताको कारक तत्व बढाउने छ । अशुभ रंगको प्रयोग भने कम गर्दै लैजानु पर्ने हुन्छ । यसलाई नै आजभोली कलर थेरापी भन्ने गरिन्छ । कलर थेरापीमार्फत जीवनमा शुभता बढाउन सकिन्छ ।

तपाईंहरुले बुल फाइटमा खेलाडीले साँढेलाई उत्तेजित पार्न रातो रंगको कपडा प्रयोग गर्ने गरेको देख्नु भएकै छ । त्यसैले मानिसको जीवनमा पनि रंगको प्रयोगले सकारात्मक वा नकारात्मक उर्जा दिने अवस्था सिर्जना हुन्छ । सैनिकको गतिविधिमा रातो रंग प्रयोग गरिन्छ । साधुसन्त महन्त तथा भिक्षुहरुले रातो र पहेंलो रंग मिश्रित गेरुवा रंग प्रयोग भएको हुन्छ । शुद्धताका लागि सेतो रंग प्रयोग गरिन्छ । वास्तवमा गहिरिएर हेर्ने हो भने हरेक देश देशको झण्डामा प्रयोग हुने रंगमा निश्चित थेम अन्तरनिहीत भएको छ ।

ज्योतिष र रंग
वैदिक ज्योतिषमा रंगको प्रयोग र त्यसको नतिजाबारे विस्तृत व्याख्या गरिएको छ । व्यक्तिको कुण्डलीमा ग्रहको अवस्थितिका आधारमा उक्त व्यक्तिलाई निश्चित रंगहरु शुभ र अशुभ हुने गर्छ । त्यसलाई व्यक्तिको जीवनमा परिक्षण गरि हेर्दा नतिजा ठ्याक्कै देखिने गर्छ । तसर्थ, रंगको प्रयोग सचेततापूर्वक र राम्रोसँग विचार गरेर मात्र गर्न आवश्यक हुन्छ । शुक्ष्मरुपमा ज्योतिषीय दृष्टिकोणबाट हेर्दा व्यक्तिको जीवनमा निश्चित उमेरको अवधिमा निश्चित रंगको प्रयोग फलदायी हुने हुन्छ भने कतिपय रंग जीवनभर शुभ वा अशुभ हुन्छन् । कलर थेरापी वा कलरको प्रयोग वैदिक ज्योतिषको अभिन्न र गहिरो विधा हो । सोही अनुसार रत्नको प्रयोग पनि यसमा विकास भएको छ ।

जथाभावी रंगको प्रयोगले व्यक्तिमा इरिटेशन, शिथिलता, एग्रेशन, डिप्रेसन आदी जस्ता नकारात्मक परिणाम दिन पुग्छ । रंग प्रयोग गर्दा बढि चम्किलो रंग प्रयोग गर्दा पनि यस्तो अवस्था आउने गर्छ । त्यसैले, आफूले धेरै समय बिताउने स्थानमा आफूलाई फाइदा गर्ने रंगको प्रयोग गर्न ज्योतिष विद्याले निश्चित गाइडलाइन दिएको छ । त्यसका लागि राम्रो पढेलेखेको ज्योतिषको परामर्श लिएर रंगको प्रयोग गर्दा उपयुक्त हुन जान्छ ।

अवस्था अनुसार रंग र रंगिन लाइटको प्रयोग
अवश्य हो, अवस्थाअनुसार रंगको प्रयोग हुने गर्छ । रेष्टुराँमा प्रयोग हुने रंग, रक्सी खाने बारमा प्रयोग हुने रंग, मन्दिर तथा देवालयमा प्रयोग हुने रंग, गुम्बामा प्रयोग हुने रंग, पुस्तकालयमा प्रयोग हुने रंग, खाना खाने डाइनिङ्ग हलमा प्रयोग हुने रंग, पूजा कोठामा प्रयोग हुने रंग, श्रीमान श्रीमतीको शयन कक्षमा प्रयोग हुने रंग फरक फरक हुन्छन् । अर्थात, स्थानअनुसार रंगको छनोट गर्नुपर्छ । नितान्त विपरित यानेकी कन्ट्राष्ट रंगले विपरित नै नतिजा दिन्छ । त्यसैले तपाईंले पनि आफनो घर तथा अन्य क्षेत्रमा रंगको छनोट गर्दा निकै विचार पुर्याएर रंग छनोट गर्दा त्यसको नतिजा सही पाउन सक्नु हुन्छ । होइन भने हेर्दा साधारण लागे पनि त्यसले भयानक नराम्रो नतिजा दिनेतर्फ तपाईं सचेत हुन आवश्यक छ ।

त्यत्ति मात्र होइन, आजभोली फरक फरक रंगसहितको प्रकाश दिने बत्तिहरु पाइन्छन् । तर, ती बत्तिको प्रयोग जथाभावी गर्दा तपाईं र तपाईंको परिवारको सदस्यमा निकै नकारात्मक प्रभाव पर्न सक्छ । यसो हेर्दा यी सानो कुरा जस्तो लागेता पनि त्यसको प्रभाव कल्पना गरे भन्दा ठूलो हुन्छ । त्यसैले स्थान विशेषअनुसार यसबारे छनोट गर्नु तपाईंका लागि श्रेयकर हुन्छ । साथै आफूलाई अशुभ रहने रंग फ्याक्ने लाइट प्रयोग गर्नु हुँदैन ।

सही रंगको ड्रेस अप
कतिपय सन्दर्भमा अवस्थाअनुसार निश्चित रंगका लुगा कपडाको ड्रेस अपको छनोटले तपाईंको व्यक्तित्व दर्शाउँछ । सही स्थानमा सही रंगको कपडा लगाउन सक्नु भयो भने तपाईंको व्यक्तित्व र सेन्स उचो देखिन्छ । शोकमा सामेल हुँदा धेरै चम्किला लुगाले अशोभा दिन्छ । त्यसैगरी, उत्साह उमङ्गका बेला डिम कपडाले तपाईंको त्यस अवस्था प्रतिको सहभागितालाई फिका बनाइदिन्छ । त्यसैले आफू कस्तो कार्यक्रममा सहभागिता हुन जाँदै हुनु हुन्छ ? सोही अनुसारको रंगले सजिएको कपडा लगाउनु भयो भने सान्दर्भिकता झल्कन्छ । शोभा दिन्छ ।

विभिन्न क्षेत्रका सेलिब्रेटीले आफू सहभागी हुने कार्यक्रमको प्रकृतिअनुसार चाहिने रंग सहितको लुगा वा ड्रेस अप गर्छन । उनीहरुले गाइड गर्न यस क्षेत्रका ज्ञाता नै राखेका हुन्छन । सर्वासधारणका लागि यस्तो खाले सेवा उपलब्ध नहुन सक्छ । तर, कमन सेन्स लगाएर पनि यसबारे रंगको प्रयोग गर्न तपाईंले मेहनत गर्न सक्नुहुन्छ ।

वास्तवमा निश्चित पेशाअनुसार कतिपय रंग निर्देशित पनि छन् । तपाईं कस्तो पेशासँग आवद्ध हुनुहुन्छ ? सो अनुसारको रंग मेल खाने कपडा लगाउनु तपाईंका लागि श्रेयकर हुनेछ । सेना वा सुरक्षाकर्मीले लगाउने लुगामा प्रयोग गर्ने रंग बेग्लै प्रकारको हुन्छ । विद्यार्थीले लगाउने लुगाको रंग बेग्लै प्रकारको हुनुपर्छ । वौद्धिक पेशागत जीवनमा आवद्ध व्यक्तिले छनोट गर्ने कपडाको रंग सोही अनुसारको सुहाउँदो हुनुपर्छ । मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तिले लगाउने कपडाको रंग फरक हुनुपर्छ । तसर्थ पेशा अनुसारको रंग मिल्दो ड्रेस अप छनोट गर्न तपाईंले ध्यान दिनुपर्छ ।

(पन्त, नेपाल ज्योतिष परिषदका केन्द्रीय पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement

Advertisement