अदालतलाई चुनौति दिँदै ओलीले भने, ‘तीन जना मनोनितहरुलाई कसैले रोक्न सक्दैन’

Advertisement

काठमाडौंः राष्ट्रियसभामा काँग्रेसले मनोनयनका लागि सिफारिस गरेकाहरुलाई उल्ट्याउँदै अहिलेको सरकारले मनोनयन गरेका तीन जना सदस्यहरुलाई कसैले रोक्न नसक्ने भन्दै प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतप्रति कडा चुनौति दिएका छन् ।

दुईतिहाई बहुमतको शक्तिशाली प्रधानमन्त्री हुने तरखरमा रहेका ओलीले शनिबार संसद भवनमा आयोजना गरिएको कार्यक्रममा आफ्नो सरकारले मनोनयनका लागि सिफारिस गरी राष्ट्रपतिबाट मनोनित भएकाहरुलाई सर्वोच्चले उल्ट्याउन नसक्ने चुनौति दिएका हुन् ।

उक्त मनोनयनमा परेका एक जना डा. युवराज खतिवडालाई ओलीले अर्थमन्त्री नै बनाइसकेका छन् । सर्वोच्चले मनोनित तीन जनालाई सपथ नगराउन यसअघि नै अन्तरिम आदेश दिइसकेको छ ।

यता काँग्रेसले संविधानअनुसार आफ्नो सरकारले मनोनयनका लागि सिफारिस गरेकाहरुलाई मनोनित नगरी उल्ट्याउने ओली सरकारको निर्णय र समयमा निर्णय नगर्ने राष्ट्रपति विद्या भण्डारीप्रति आलोचना गर्दै आएको छ ।

संसद सचिवलयमा एमाले र माओवादी केन्द्रका सासंदहरुलाई शनिबार संयुक्त निर्देशन दिने क्रममा ओलीले राष्ट्रिय सभामा मनोनित तीनजनालाई कसैले रोक्न नसक्ने भन्दै कडा अभिव्यक्ति दिएका हुन् । उनले भने, “कानून पढेर राजनीति गर्ने भगडियाहरुले हालेको मुद्दामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।”

संसद्, अदालत र सडकमा समेत वास्तविक नागरिकता र कागजी नागरिकताबारे विवाद हुनुले नेपाल कुन हालतमा छ, भन्ने संकेत गरेको बताउँदै ओलीले आफूले भाइ भन्दै आएका सदस्य महेन्द्रराय यादवलाई ज्येष्ठ सदस्यबाट सांसदको शपथ लिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

आइतबारसम्म तीनजना मनोनयनको विषय किनारा लागिसक्ने संकेत गर्दै उनले राष्ट्रपतिको निर्णयको बचाउ गरे । ओलीले पाँच वर्षको अवधिलाई विकास वर्ष बनाउने बताउँदै यस अवधिमा देशले विकासमा फड्को मार्ने बताए ।

प्रतिपक्षसँग सुमधुर सम्बन्ध राखेर अघि बढ्ने प्रतिबद्धता पनि उनको भनाई छ। आफूले प्रतिपक्षसँग उदार भएर काम गर्ने बताए । आफूहरुले लगाएको पोशाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै ओलीले प्रशस्त सम्भावना भए पनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्ने बताए ।

 

सांसदलाई पार्टी र आन्दोलनलाई प्रमुख मानेर अघि बढ्न सम्झाउदै ओलीले भने, “सरुवा बढुवाका फाइल होइन देश विकासका फाइल बोक्नुस्, जनताले तपाईलाई जतिबेला हेरेपनि दाग नभएको रुपमा देख्न सकोस् ।”

उनले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने भएकाले त्यसमा अनावश्यक झमेला नगर्न पनि आग्रह गरे । ओलीले छिमेकी भारत, चीन र अन्य मुलुकसँगको नेपालको सम्बन्ध राम्रो रहेको र ती देशले नयाँ सरकारसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको उल्लेख गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब आफूहरु राष्ट्रिय पुँजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्ने बताए । उनले एकताको निर्णयले नेपाललाई १०० वर्षपछि जानबाट अघि ल्याएको भन्दै त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको बताए ।

Advertisement

Advertisement

Advertisement