सलमानको ‘दबाङ द टुर’ बैशाखमा गर्ने भन्दै महंगो दरका टिकटको पैसा फिर्ता गर्न अस्वीकार

Advertisement

काठमाडौंः नेत्रविक्रम चन्द विप्लव माओवादीको सुरक्षा चेतावनीका साथै जनताको चौतर्फी विरोधपछि स्थगित गरिएको ‘दबाङ द टुर’ कन्सर्ट आउँदो बैशाखमा फेरि गर्ने भन्दै आयोजनले महँगो टिकटको पैसा फिर्ता गर्न अस्वीकार गरेका छन् ।

सलमान खानसहित भारतीय केही कलाकारहरुले रक्सीको प्रचारका लागि काठमाडौं आएर राजधानीको मुटु सैनिक मञ्च अगाडि कन्सर्ट गर्ने भन्दै तीनदेखि २० हजार रुपियाँसम्मका चार थरी टिकटहरु ब्यापकहरुमा बिक्री गरिएको थियो ।

कार्यक्रम गर्न असफल भएपछि सम्वन्धित उपभोक्तालाई उनीहरुको पैसा फिर्ता गर्नुपर्नेमा आयोजक ओडीसी इन्टरनेशनलले आउँदो बैशाखमा फेरि कार्यक्रम गर्ने भन्दै टिकटको पैसा दिन अस्वीकार गरेका छन् । अहिले नै असफल भएको कार्यक्रम आउँदो बैशाखमा आयोजना झन संभव नदेखिए पनि ओडीसीका प्रमुख सिमान्त गुरुङले कार्यक्रम फेरि हुने भएकाले सुरक्षित राख्न आग्रह गरेका छन् ।

त्यसपछि कार्यक्रमको प्रायोजक टुबोर्ग वियरको उत्पादन गर्ने कम्पनी गोर्खा ब्रुअरी र त्यसको अन्तर्राष्ट्रिय लगानीकर्ता कार्सबर्ग ग्रुप दुवैको नेपालमा राम्रो इमेज नभएकाले पनि सलमान खान सोही कार्यक्रम आउन तयार हुने अवस्था छैन । कार्सबर्ग र गोर्खा ब्रुअरी पटक पटक कर छलीमा पर्दै मुद्दा खेप्नेदेखि जरिवाना तिर्दै आएका कम्पनी हुन् ।

यही आउँदो मार्च १० मा गर्ने भनिएको कार्यक्रमका लागि टुबोर्गको जताततै भडकिलो प्रचार गरिएको थियो भने जिल्ला प्रशासन कार्यालयले कार्यक्रम आयोजना गर्न आफूहरुसँग पहिला स्वीकृति नलिई पछि सुरक्षा माग गर्ने काम गरिएकोले आयोजकलाई नै कारवाही गर्ने चेतावनी दिएको थियो ।

कार्यक्रम स्थगित भइसकेपछि बैशाखमा फेरि सोही कार्यक्रम गर्ने भन्दै प्रचार सुरु गरिएको र टिकटको पैसा दिन अस्वीकार गरिएकोप्रति विप्लव माओवादीको जनसाँस्कृतिक महासंघले विरोध जनाएको छ । महासंघका महासचिव खेम थपलियाले यो कार्यक्रम नेपाल र नेपालीको हितमा नरहेको भन्दै कुनै पनि हालतमा हुन नदिने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement