प्रधानमन्त्रीको निर्देशन अटेर गर्दै उर्जा मन्त्रालय र विद्युत प्राधिकरणका कर्मचारी अमेरिका भ्रमणमा

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई अटेर गर्दै उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको एक टोली अमेरिका भ्रमणमा गएको छ । नयाँ सरकार बनेसँगै प्रधानन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कसैलाई पनि विदेश जनता र जाने तयारी गरेकाहरुलाई पनि भ्रमण स्थगित गर्न सबै निकायमा पत्राचार गरेको थियो ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारी बुद्धिबहादुर खड्काले कसैलाई पनि विदेश नजान आफूहरुले पत्राचार गरेको जानकारी दिए । प्राधिकरणका एक कर्मचारीका अनुसार विश्व बैंकको कार्यक्रममा भाग लिन भन्दै आधा दर्जन कर्मचारीहरु तीन दिनअघि अमेरिका गएका हुन ।

जानेहरुमा उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, प्राधिकरणको कानुन महाशाखाका प्रमुख तुलाराम गिरी, ढल्केबर सबस्टेशनका प्रमुख राधेशरण महतो, लेखापाल उमेश भण्डारी र प्राधिकरणका अर्का एक अधिकारी छन् । उनीहरु ढल्केबर सबस्टेशन आयोजनाको पैसामा दुई साताका लागि अमेरिका गएका हुन ।

ढल्केबरको काम अलपत्र छोडेर सोही आयोजनाको पैसामा उर्जा मन्त्रालय र प्राधिकरणका कर्मचारी विदेश गएको भन्दै प्राधिकरणकै कर्मचारीले असन्तुष्टि पोखे । उनीहरु तालिममा भाग लिन गएको जनाइएको छ । उर्जा मन्त्रालय र प्राधिकरण व्यवस्थापनले प्रधानमन्त्री कार्यालयको पत्र प्राप्त भइसकेपछि त्यसलाई लुकाएर केही कर्मचारीहरुलाई अमेरिका पठाउने काम भएको स्रोतको तर्क छ ।

Advertisement

Advertisement

Advertisement