श्रमस्वीकृति विना वैदेशिक रोजगारीमा जाने महिलाको सरकारले जिम्मेवारी नलिने

Advertisement

काठमाडौंः गैरआवासीय नेपाली संघ महिला फोरमले १०८औ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रममा वैदेशिक रोजगारबाट फर्किएर आएका नेपाली महिला कामदारहरुलाई नेपालमा आर्थिक सामाजिक तवरमा पुनः एकीकरण गर्ने विषयबारे कार्यशाला गोष्ठी आयोजना गर्यो ।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन विभागले केही कार्यक्रम संचालनमा ल्याएको बताए । उनले सामी परियोजनाको सहयोगमा २० जिल्लाहरुमा वैदेशिक रोजगारमा जानेहरुलाई सोसम्बन्धी जानकारीहरु उपलब्ध गराई राखेको जानकारी दिए ।

आचार्यले वैदेशिक रोजगारमा जानुपूर्व स्वदेशबाटै श्रमस्विकृती अनिवार्य रुपमा लिएर जानुपर्ने कानुनी प्रावधान रहेको भन्दै स्वदेशबाट श्रमस्वीकृति नलिई गएकाहरुको हक हितको रक्षा राज्यले गर्न नसक्ने बताए । उनले फर्किएर आएका कामदारहरुको तथ्यांक हाल विभागसँग नरहेको तर यस सम्बन्धमा कार्यहरु भइरहेको जानकारी दिए ।

वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुले आफूले भोगेको समस्या राखेका थिए । शक्ति संस्थाकी चरिमाया तामाङ, पौरखीको सेल्टरमा बस्ने कमलीदेवी घर्ती, ताहाचलको वैदेशिक रोजगार सुचना कक्षमा कार्यरत दुर्गा पोखरेललगायतका वैदेशिक रोजगारबाट फर्किएर आएकाहरुले सरकार र सरोकारवाला संस्थाहरुले वैदेशिक रोजगारबाट दुःख पाएर फर्केका महिलाहरुलाई स्वदेशमै रोगारीको अवसर सिर्जना गर्न आग्रह गरे ।

वैदेशिक रोजगारपछि नेपाल फर्केका महिला कामदारहरुलाई नेपालमा कसरी पुनर्स्थापना गर्न सकिन्छ ? बारे बोल्दै सामाजिक अभियन्ता सरु जोशीले वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुलाई स्वेदशमै रोजगारी सिर्जना गर्नको लागि नेपाल सरकार र निजी क्षेत्रलाई आग्रह गरिन ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत संघसंस्थाहरु एसिया फाउण्डेसनका नन्दिता बराउ, सामी परियोजनाका सूर्य भण्डारी, सवा संस्थाका नीलु थापा, एफविनका दर्शना श्रेष्ठ, रोटट्रयाक नेपालका सीता रुपाखेती, पौरखीका चाँदनी राना र वीनका प्रतिनिधिहरुले कार्यक्रममा बोलेका थिए । उनीहरुले वैदेशिक रोजगारबाट फर्केर आएका महिलाहरुलाई सीपमूलक तालिम दिएर पुनर्स्थापना गर्न सकिने बताएका थिए ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले वैदेशिक रोजगारको क्षेत्रलाई अझ सुरक्षित र मर्यादित बनाउन नयाँ नीति नियमहरु निर्माण हुन लागेको बताए । सरकारले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित पार्न सरोकारवाला संघसंस्था संग सहकार्य गरेर काम गरिरहेको भन्दै उनले सरकारले केही महिना अगाडी श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा गएर दुर्घटनामा परी घाइते भएका र मृत्यु भएका कामदारहरुको सहयोगको लागि रकमहरु उपलब्ध गराउने व्यवस्था गरेको पनि बताए ।

परराष्ट मन्त्रालयका सहसचिव एवं गैरआवासीय नेपाली महाशाखाका प्रमुख कृष्ण ढकालले वैदेशिक रोजगारबाट फर्किएर आएका महिलाहरुलाई सामाजिक, पारिवारिक र आर्थिक रुपमा पुरुषको दाँजोमा सामाजिक आर्थिक तवरले पुनःस्थापना गर्न गार्हो भएकोले उनीहरुलाई पुनःएकिकरण गर्न एक विशेष प्याकेज ल्याउनुपर्ने बताए ।

उनले वैदेशिक रोजगारमा जानेहरुको तथ्यांक बारे जानकारी दिँदै विगतको तुलनामा हालका दिनहरुमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्यामा अत्यधिक बृद्धि भएको बताए । ढकालले वैदेशिक रोजगारमा अलपत्र परेका महिलाहरुलाई अल्पकालिन आश्रय दिनको लागि केही मुलुकहरुमा महिला सेल्टर स्थापना गरेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले महिलाहरुको सशक्तिकरण हुनुपर्ने भन्दै वैदैशिक रोजगारमा जानेलाई स्वदेशमै रोजगार गर्नको लागि सहुलियत ब्याजदरमा वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराउनुपर्ने बताए ।

भट्टले विदेशमा गएर रोजगारी गर्ने की स्वदेशमै रोजगरी गर्ने हो ? आफैले चयन गर्ने बाटो दिनुपर्ने बताए । उनले नेपालमा लगानी क्षेत्र प्रशस्त भएको हुँदा गैरआवासीय नेपालीहरुलाई लगानीको क्षेत्र पहिचान गरी स्वेदशमा लगानी गर्न आग्रह गरे ।

संघको महिला फोरम, एफविन र नमूना फेसन कलेज टेक्नोलोजीको सहयोगमा दोश्रो चरणको विशेष सीपसम्बन्धी तालिम लिएका विभिन्न जिल्लाका २० जना महिलाहरुलाई प्रमाणपत्र दिइएको थियो ।

Advertisement

Advertisement

Advertisement