‘पूरानै शैलीको ‘प्लानिङ’ले हामीले चाहेको विकास कठिन हुन्छ, अर्थमन्त्रीले यसमा ‘रिलुक’ गर्नुपर्छ’

Advertisement

नयाँ संविधान जारी भएपछि निर्वाचन सम्पन्न भएर अहिले नयाँ सरकार पनि बनेको छ । धेरैको आशा र अपेक्षा के छ ? भने अबको सरकार स्थिर हुन्छ । मुलुकमा आर्थिक विकासलाई गति दिन्छ । लगानी प्रवद्र्धन हुन्छ । रोजगारीका नयाँ अवसरहरु सिर्जना हुन्छ । जनतामा बिगतमा जस्तो अस्थिरता र द्धन्द्ध अब अन्त्य भएर विकासका योजनाहरु सहजरुपमा अघि बढ्छ भन्ने आशा पलाएको छ । धेरैलाई आशा पलाएको बेला त्यो आशा सफल हुने स्थिति छ किन छैन ? भन्ने विषयमा नेपालको पहिलो र एकमात्रै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) विज्ञ डा. सरोज कोइरालासँग केही दिनअघि कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रममा गरिएको कुराकानी सारः

तपाईं नेपालको पहिलो र एक मात्र एफडीआई विज्ञ अर्थात प्रत्यक्ष वैदेशिक लगानी विषयमा विद्यावारिधि गरेको मान्छे । हामीलाई भन्दिनु न अबको नयाँ राजनीतिक परिस्थितिमा कत्तिको स्वदेशी विदेशी लगानी विस्तार हुने संभावना देख्नुहुन्छ ?
पहिले र अहिले पनि यहाँ सम्भावना प्रशस्त छ । तर, सम्भावनालाई कसरी वैदेशिक लगानीमा रुपान्तरण गर्ने ? भनेर त्यसका लागि हामीले गृहकार्यका साथै वातावरण बनाउनमा नयाँ सरकारले यथेस्ट ध्यान दिनुपर्छ । अहिलेसम्म हामीले वैदेशिक लगानीको लागि लगानी बोर्डको स्थापना गरेको आठ वर्ष भइसक्यो । तर, पनि किन लगानी भित्र्याउन सकेनौं ? यसमा व्यापकरुपमा मूल्याङकन गर्नुपर्छ । हामीमा के के कारणले वा ल्याकिङले गर्दा वैदेशिक लगानीलाई आकर्षण गर्न सकेनौं ? जबकी, छिमेकी देश चीन र भारत संसारकै धेरै वैदेशिक लगानी प्राप्त गर्ने देश हुन् । अहिले स्थिति कस्तो छ भने उनीहरु नै धेरै भन्दा धरै लगानी विदेशमा गरिरहेका छन् । जबकी नेपालमा उनीहरुको आँखा पर्न सकेको छैन । त्यसकारण हाम्रो वैदेशिक लगानीको धारणामा र कानुनी प्रक्रिया स्पष्ट हुनुपर्यो । हाम्रा सम्भावनाहरु के के हुन भनेर पहिचान गर्न सक्नुपर्यो । हामीसँग भएका प्रडक्टलाई म्यापिङ गरेर मार्केटमा लगेर कतिको मार्केटेबल छ ? भनेर पहिचान गर्न सकेमा मात्र वैदेशिक लगानी भित्रिन सक्छ । यस विषयमा गहन रुपमा छलफल आवश्यक छ । नत्र वैदेशकि लगानी भित्रिनका लागि अलिकति समय लाग्छ ।

विगतमा लगानी बढ्न नसक्नु, आर्थिक विकासले गति लिन नसक्नु, बनेका नीति र योजनाको सफल कार्यान्वयन हुन नसक्नुको मुख्य कारण के हो ?
सबैभन्दा पहिलो कारण के हो भने बैदेशिक लगानी किन आउने ? भन्ने प्रश्नको उत्तर संसारलाई दिनुपर्छ । इन्भेष्टरहरु किन आउँछन त ? वा लगानी किन आउँछ ? उनीहरुको मुख्य उद्देश्य भनेको लगानीको प्रतिफल वा नाफा कमाउनु हो । हामीले कसैलाई अथवा विश्वभरका लगानीकर्तालाई बताउन नसकेको भनेको यहाँ आएर लगानी गर, नाफा कमाउ भन्न नसक्नु नै हो । हामीले स्पष्ट रोडम्याप बनाउन नसक्नु नै र विश्वमा प्रस्तुत गर्न नसक्नु नै ठूलो समस्या हो । यहाँ भएका लगानीका सम्भावनाहरुलाई पहिचान गर्न नसकेर उनीहरुलाई इन्भाइट गर्न सकेनौं ।

विकास नहुनुमा कोहीले राजनीतिक दललाई दोष दिन्छन । कसैले व्यवस्थालाई दोष दिन्छन । कसैले कर्मचारीतन्त्रलाई । कसैले नेपालको भूराजनीतिक परिस्थितिलाई । विकास नहुनुको वास्तविक समस्या चाहीं के हो ?
एसियाकै दोस्रो हाइड्रोलिक पावर भनेको नेपालको फर्पिङ हो । त्यो बनेकै करिब एक सय पाँच वर्ष भइसक्यो । त्यसपछिको एक सय वर्षको अवधिमा जम्मा हामीले सात सय मेघावाट विद्युत उत्पादन गर्यौं । किन यस्तो ढिलाई भयो त ? हाम्रो विकासको स्पिड किन यस्तो भयो ? यदी स्थायित्व नै विकासको सुचक हो भने पञ्चायत कालमा एउटै शासन ३० वर्षे लामो पनि थियो त । त्यसबेला विकास हुनुपर्ने हो नि ? यदी स्थायित्व नै विकासको मापदण्ड हो भने पहिले बनेका ४०, ४५ वटा उद्योगधन्दाहरु जब रामशरण महतको नुवाकोट इकोनोमीमा गयौं, त्यसपछि बेचियो । अर्थात, निजी क्षेत्रले जब लियो, त्यसपछि त्यो पनि सस्टेन हुन सकेन । लामो प्रोसेस हेर्दा धेरै कुरा इम्प्लेमेन्टेशन गाह्रो छ भन्ने देखिएको छ । जुन प्लानिङ बनेका छन्, त्यसमा कार्यान्वयन गर्न नसक्ने प्लानिङ हामीले गरिरहेका छौं । हामीले बनाएका प्लानिङ नै गलत गरिरहेका छौं । या त इम्प्लेमेन्टेशन गर्न नसक्ने प्लानिङ हामीले गरिरहेका छौं । या बनाएका प्लानिङलाई नै रिभ्यु गर्न आवश्यक छ । रिभ्यु गर्यौं भने अनि था हुन्छ कहाँ ल्याक भएको छ ? विकास भनेको त प्लानिङमा निर्भर हुन्छ र नयाँ आएको सरकारले जुन संमृद्धिको लागि आएको हो, जनताले संमृद्धि कै लागि सरकारमा स्वीकार गरेका हुन् । यो सरकारले भएका ल्याकिङमा ध्यान दिनुपर्छ । खुसीको कुरा अर्थमन्त्री त विज्ञ आउनु भएको छ उहाँले यसमा रिलुक गर्न आवश्यक छ ।


नीति र कार्यशैलीमै समस्या भन्नुभयो तपाईंले । नेपालले विगतमा अंगिकार गरेका सबै नीति र कार्यक्रमहरु असफल थिए वा उपयुक्त थिएनन भन्न खोज्नुभएको हो ?

असफल हैन । किन हामी पूर्णरुपमा सफल हुन सकेनौं ? आज योजना आयोग बनेको ६० वर्ष हुदाँ पनि संसारकै गरिब राष्ट्र भएर बस्याछौं भने अझ पनि हामी यो अवस्थामा छौं भने...... । हामीले हाम्रो क्षमतामा प्रश्न गर्नै पर्दैन । हामीले के गर्यौं त ? किन हामी गरिब राष्ट्रमा परिणत भयौं ? जबकी हामीसँग यस्तो राम्रो नेचुरल रिसोर्स छ । हामीसँग संसारकै उत्कृष्ट भूराजनीतिक अवस्था छ । जलस्रोत पनि राम्रो अवस्थामा छ । नेचुरल र अननेचुरल स्रोत...। म्यानपावर हामी विदेश पठाउँछौं र उनीहरुले पठाएको पैसाले घर चलाउँछौं । साधारण कुरा भन्दाखेरी हामी निर्यातमुखी कृषिबाट अहिले आयातमुखी कृषिमा आएका छौं । पहिले हामी थाल पनि बनाउथ्यौं । चामल पनि फलाउथ्यौं । तर, अहिले थाल पनि बाहिरबाट आउँछ र चामल पनि बाहिरबाट आउँछ । हामी खान्छौं । तपाईं हामी बसेर डिसिजन गर्ने डाइनिङ टेबल पनि बाहिरबाट आउने गर्छ । प्लानिङ लेभरदेखि नै यो समस्या किन देखियो ? भने हाम्रो प्लानिङ नै खुद्रे प्लानिङ भयो । यो कामहरु कसले गर्दै आए भने नेशनल प्लानिङ कमिसनले कन्सल्टेन्टवाला प्लानिङ गर्दै आए । हामीले अल्टरनेटिभ तरिकाले सोचेनौं । हामीले लङ र वा सट रनको लागि प्लानिङ सोचेनौ जस्तो मलाई लागि राख्याछ ।

आर्थिक विकासमा यति धेरै समस्या देखिरहँदा, तपाईंको वैकल्पिक योजना चाहीं के छ ?
मेरो रिसर्चले के भन्छ भने नेपालमा विकासका लागि प्रशस्त प्राकृतिक स्रोत साधन छ । जसको दोहन भएको छैन् । सम्भावना छ विकासका लागि । एउटा साधारण कुरा नेपालको नदिबाट बग्ने पानीको दुई प्रतिशतमात्र नेपालले प्रयोग गरेको छ । तर, भारतले १३ प्रतिशत प्रयोग गरेको छ भने ९८ प्रतिशत पानी त नेपालको खेर गइरहेको छ । विदेशमा कार्यरत ८० लाख नेपाली श्रमिकलाई फिर्ता बोलाएर देशमै पसिना बगाउन किन नलगाउने ? त्यो श्रमलाई नेपाली बजारमा नेपाली माटोमा किन पसिना बगाउन नलाउने । हाम्रो जति पनि योजना छन सब साना छन् । राजतन्त्रदेखि गणतन्त्रसम्ममा आएको बेलामा चारवटा मात्र विकासका पक्ष भन्दा अरुमा कसैले बोल्दैन । जस्तो कृषि, उद्योग, पर्यटन र जलस्रोतमा मात्र लगानी गर्ने हो भने विकास सजिलै हुन्छ । यी चारवटा खम्बालाई मात्र प्राथमिक्ता दिन पर्यो नि । पर्यटन बढ्दा उद्योग कसरी बढ्छ ? उद्योग बढ्दा जलविद्युत कसरी बढ्छ ? भन्ने कुरा बुझ्न आवश्यक छ । उनीहरु बीचको इन्टररिलेसन काहाँ छ ? हामीले हेर्या छौं कि छैनौं ? यदी छौं भने ३० वर्षको अवधिमा के हेरेर बस्यौं छ ?

योजना बनाउँदा निरपेक्षरुपमा अब नेपालका लागि मात्र बनाएर पुग्दैन । ग्लोबलाईजेसनको बेलामा हामीले नेपालका सीमा जोडिएका नजिकका भारतका र चीनका प्रदेशलाई समेत समेटेर योजना बनाउनुपर्छ । अहिलेसम्म हामीले बनाएका योजना साना क्षणिक योजना वा खुद्रे योजना मात्र बनाएका छौं । त्यो पनि आफैले अब योजना बनाउँदा एक वा दुई वटा यस्ता योजनाको खाँचो छ, जसले सबैलाई समेटोस । समग्र देशको अर्थतन्त्रलाई र विकासलाई समेटोस । यसका लागि महत्वपूर्ण कुरा फेरि योजना बनाँउदा प्रविधि र पैसाको म्यानेजमेन्ट र म्यानपावर पनि आवश्यक पर्छ त्यो हामीले बिदेशबाट ल्याउनुपर्छ । त्यसकारण पनि अहिले आएर नयाँ सरकारले बैदेशिक लगानीलाई महत्वका साथ हेरिएको छ । अर्थमन्त्रीले बनाएको पाँच बुदे कार्यक्रममा पनि बैदेशिक लगानी परेको छ । उहाँले भन्नु पनि भएको छ बैदेशिक लगानी ल्याएर उद्योगधन्दा सञ्चालन गरेर रोजगारी सिर्जन गर्ने र आर्थिक विकासका काम गर्ने ।

तपाईंसँग भएको जुन सोच छ । जुन योजना छ । त्यसलाई लागू गर्न त तपाईंलाई अहिलेको सरकारले सुन्नुपथ्यो । तपाईंलाई भूमिका दिनुपर्यो । त्यो संभावना छ त ?
यो सम्भावना छ । एउटा सानो कुरा के छ भने अहिलेसम्म जति सरकार थिए, कोही कांग्रेसका थिए कोही कस्का थिए । त्यो दलका सरकार थिए । अहिलेको सरकार नेपालको वा राष्ट्रिय सरकारको भान भइरहेको छ । अहिले बल्ल मलाई फिल भइरहेको छ राष्ट्रको लागि काम गर्न लागेको सरकार जस्तो । दलीय दल दलबाटमाथि उठेर एउटा विज्ञ अर्थमन्त्रीमा आउनु भएको छ । उहाँलाई ज्ञान छ र अनुभव पनि छ । यस्तो मान्छे सतहमा जब ड्राइभिङ चियरमा आउँछन समग्र अर्थतन्त्रमा यसको प्रभाव परिसकेको छ । उहाँले अब आवश्यकता अनुसारको मान्छे ल्याउनुहुन्छ । सम्पूर्ण इकोनोमिमा यसको माइन्ड सेट पोजेटिभ भइसकेको छ । उहाँलाई धेरै कुरा था छ । त्यसैले उहाँले त्यसै अनुसारको मान्छे खोज्नुहुन्छ । इकोनोमीमा माइन्डसेट हुनु भनेको पनि ठूलो कुरा हो । यसले पक्कै पनि नयाँ सोच ल्याउछ भन्नेमा हामी आशावादी छौं ।

योजना बनाएर मात्रै विकास हुने हो र । योजना त विगतका पनि नराम्रा होइनन नि । मुख्य कुरा त कार्यान्वयनको हो ? सबैले इमान्दार भएर काम गर्ने हो । भ्रष्टाचार नहुने हो भने त विकास त्यसैपनि हुन्छ नि होइन र ?
भ्रष्टचारको अत्य विकासको लागि राम्रै हो । तर, इमान्दार मात्र भएर पनि विकास हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने हामीसँग के छ ? भन्ने कुरा हामीले थाहाँ पाउनुपर्छ । जुन कुरामा हामी बलियो छौं, जुन कुरा हामीसँग उपलब्ध छ, त्यसलाई पहिचान गर्न सक्नु नै पोजेटिभ हो । भएका स्रोत साधनले नै विकास गर्ने हो । जो मान्छे जा लड्यो, त्यहींबाटै उठ्ने हो । विकासको लागि महत्पूर्ण कुरा हामीसँग भएका साधनलाई परिचालन गर्न सक्नुपर्छ । हामीसँग भएका साधनमाथि जब नीति कार्यक्रम बनाएर जान्छौं, तब विकास हुन्छ । भ्रष्टाचार अन्त्य भएरै मात्र विकास हुने हैन । किनकी धेरै मुलुकमा भ्रष्टचार छैन तै पनि विकास भएको छैन । सबैभन्दा ठूलो कुरा प्लानिङ नै गहिरो हुनपर्यो । मेकानिजमदेखि कार्यन्वयनसम्ममा जाँदा उत्कृष्ट भूमिका खेल्नुपर्छ । सिंहदरवारदेखि जनताको घरसम्म लिएर जानको लागि सक्षम हुनुपर्छ ।

तपाईंले अघि नै पनि भन्नुभयो नेपाल जलस्रोतमा पनि सम्भावना भएको देश हो । सँगसँगै पर्यटनमा पनि सम्भावना भएको देश हो । तपाईंको दृष्टिमा हाम्रो संभावना के हो ?
जलस्रोतमा परक्यापिटा सरफेस वाटर हेर्यौं भने नेपाल विश्वको दोस्रो धनीमा पर्छ । हामीसँग जलस्रोतको अपार भण्डार रहेको छ । मैले अघि नै पनि भनें दुई प्रतिशत हामीले प्रयोग गरेका छौं । सिंचाइमा हामीले जम्मा १८ लाख हेक्टर मात्र प्रयोग गर्न सकेका छौं । अल वेदर सिंचाइ नै छैन । जलस्रोतको एउटा मात्र प्रयोग भनेको हाइड्रो पावर मात्र हैन । सिंचाइ मात्र हैन । यसलाई धेरै प्रकारमा प्रयोग गर्न सक्छौं । भारत वाटरवेजमा गइरहेको छ । चाइना पनि वाटरवेजमा गइरहेको छ । जसले गर्दा लजिस्टिक कस्ट नै कम हुन्छ । हामीले पानीलाई हाइड्रो पावरमा प्रयोग गरेर वाटर वेजमा प्रयोग गर्न सकिन्छ, फेरि उद्योगमा प्रयोग गर्न सक्छौ र त्यही पानीलाई सिंचाइमा प्रयोग गर्न सक्छौं । यसरी जलस्रोतलाई नै धेरै मोडलमा प्रयोग गर्न सक्छौं । काहाँबाट सुरु गरेर काहाँ अन्त्य गर्ने ? भन्ने थाहा नपाउँदा मात्र पछि परिएको हो । यसका लागि प्लानिङमा जानुपर्छ । प्लानिङ जबसम्म पूरा हुँदैन नी तबसम्म हामीलाई गाह्रो छ । तर, सम्भावना धेरै छ । कसरी प्रयोग गर्ने भन्ने मात्र हो ।

छिमेकी देशको कुरा पनि आयो अघि । छिमेकीकै कुरा गर्दा भारत र चीन भनेका दुई ठूला अर्थतन्त्र । दुई ठूला बजार पनि । हामीले त्यो संभावनालाई प्रयोग गर्न नसक्नुको कारण के हो
हामीसँग भएको स्रोत साधन कसरी प्रयोग गर्न सक्छौं ? हामीले चाइनामा कुन प्रडक्ट दिन सक्छौं भन्नेमा स्पस्ट हुनुपर्छ । नेपाल चाइना र भारतको गेटवे भएर भारतको सामान चाइना र चाइनाको सामान भारतलाई दिएर हामी फाइदा लिन सक्छौं । एक ट्रिलियनको विजनेश अहिले भारत र चीनको बीचमा सुरु भइसकेको छ । साधारण कुरा ग्वान्जाउदेखि दिल्ली जानलाई १२ सय किलोमिटरको यात्रा गर्नुपर्छ । यस्लाई हामीले रिरुट नेपाल गर्न सक्यौं भने आर्थिक विकास सम्भव छ । भारतको सामन नेपाल ल्यायर चाइना पठाउने र चाइनाको सामन नेपाल ल्यायर भारत पठाउन सक्ने खाल्को प्लानिङ आवश्यक छ । अब त नेपालमा रेल आउँदै छ । नेपालमा त प्रतिवर्ष ७० हजार कन्टेनर सामान भित्रिन्छ । भोलि चाइना र भारतबाट त सामान ल्याएर आउछ रेल । तर नेपालबाट खाली जाने ? त्यसको ठाउँमा नेपालले दुई देशको मध्यस्थता गर्न सक्यो भने.....।

यसो गर्न सके लजिस्टिक कस्ट नै कम हुन्छ । हल्दियादेखि नेपालमा आउने सामानको कस्ट डबल पर्छ । यो विषयमा एकपटक समग्र रुपमा विचार गर्नुपर्छ । त्यसलाई त सम्बन्धित ठाँउमा बस्नेहरुले हेर्नुपर्छ नि । हाम्रो पैसा कुन कुन ठाउँमा वेष्टेज भइरहेका छ ? स्रोत कुन कुन ठाउँमा वेष्ट भएका छन् ? यो विषयमा समग्रमा हेर्नुपर्छ । पूर्वाधार पनि सडक यातायात, वाटर वेज, रेल यातायातसम्म जाँदा कुन कुन वेष्टेज भइरहेको छ ? एउटै ठाउमा डुप्लिकेशन भएको छ की छैन ? जस्तो काठमाडौं जोड्ने सडक छ वटा बनेका छन् । पृथ्वी राजमार्ग, खुरकोट, कान्ति राजपथ, तराईको फास्ट ट्रयाक, सिन्धुली र मुग्लिनको बाटो । सबै बाटो आवश्यक हो त ? एउटै राम्रो बनाउनुपर्ने हो कि ? एयरपोर्टको कुरामा निजगढ पोखरा जस्ता विमानस्थलको आवश्यकता छ । तर, साना विमानस्थलहरु अबको २० वर्ष पछिको लागि बनाइएको हो त ? अबको २० वर्षपछि त बुलेट ट्रेन बनेपछि काठमाडौंदेखि नेपालका जुनसुकै ठाउँमा जान पनि एक घण्टाको समय त हो नि । पछिको समयमा आन्तरिक यात्रुहरुले विमानस्थलबाट यात्रा गर्छन कि गर्दैनन् ? हामीले योजना बनाउँदा २० वर्षपछिको लागि हेरेर बनाएका छैनौं ।

अब लगानी र्बोडको कुरा गरौं । तपाईं लगानी बोर्डको सिइओको लागि पनि प्रतिस्पर्धा गरेर पहिलो नम्बरमा नाम निकालेको व्यक्ति । भलै सरकारले तपाईंलाई छनोट गरेन । तपाईंलाई सोही ठाउँमा काम गर्न सरकारले भूमिका दियो भने तयार हुनुहुन्छ ?
त्यो त मेरो स्पेलाइजेसनको विषय नै भयो । सरकारले सोच्ने कुरा हो । तर, लगानी बोर्ड मेरो लागि एक उपयुक्त ठाँउ हो । मैले रिसर्च पनि त्यस विषयमै गरेको हो । पीएचडी पनि त्यस विषयमै गरेको हो । किनकी म त्यस विषयमा जानकारी राख्ने गर्छु ।

कतिपयले लगानी बोर्ड जरुरी छ भन्छन । कसैले जरुरी छैन भन्छन । काम गर्ने कुरामा पनि मन्त्रालयहरु र लगानी बोर्डबीच टसल जस्तो देखिन्छ । बोर्डको आवश्यकता र भूमिकालाई तपाईंले कसरी हेर्नुभएको छ ?
नेपालमा मात्र हैन संसारभरी नै लगानी बोर्ड छ नि । देशको इन्टरनल स्रोत मोभिलाइज गर्नको लागि बोर्डले भूमिका खेल्नसक्छ । हामीसँग यस्ता प्रडक्ट छन् यहाँ आएर लगानी गर भनेर विश्वलाई कन्भिन्स गर्न सक्नुपर्यो । यस्ता प्रकारका योजनाहरु तयारी अवस्थामा छन् भनेर भन्न सक्नुपर्छ । ठूला योजनाका लागि संसारलाई यसमा लगानी गर, लगानी गर्यौं भने प्रतिफल पाउछौ भन्नुपर्यो । अनी मात्र लगानीकर्ता आएर लगानी गर्छन । हाम्रो प्रतिफल राम्रो भएपछि मात्र विश्व बजारमा नेपालमा लगानीको लागि हल्ला फैलिन्छ । लगानी बोर्डका मान्छेले बोर्डको अहिलेसम्मको विकासमा के भूमिका रह्यो । त्यो उनीहरु आफैले विचार गर्ने हो । मैले केही भन्न मिल्दैन । चियरमा बसेर के के गरे भनेर आफैँ अनुमान गर्नुपर्छ ।

अन्तिममा भनिदिनु न दलहरुले जुन अहिले महत्वाकाँक्षी योजनाहरु लिएका छन् आफ्नो घोषणापत्रमा । त्यसलाई सफल बनाउने सुत्र हामीले पहिल्याउने कसरी हो ? के गर्नुपर्छ ?
अरुको घोषणापत्र बारेमा भन्ने कुरै भएन । अहिले बामगठबन्धनको घोषणापत्र महत्वकांक्षी छ । त्यसमा कुनै पनि प्रबलम छैन । दश वर्षमा पाँच हजार डलर प्रतिव्यक्ति आम्दानी पुर्याउने जस्ता लक्ष्य छन् । अलिकति महत्वकांक्षी हुन । तर यसलाई सफल तुल्याउन हामीले कृषि, उद्योग, उत्पादन, जलस्रोत जस्ता क्षेत्रमा लगानी गर्न आवश्यक छ । यस्ता चार वटा क्षेत्रमा लगानी गरियो भने सकिन्छ । तर, यसलाई परम्परागत ढंगले हुँदैन । तीन वर्षे पूराना प्लानिङ फेर्न सक्यौं भने हुन्छ । किनकी घोषणापत्रमा नहुने असम्भव खालको योजना हैन । अर्थमन्त्री विज्ञ आउनु भएको छ । अब उहाँले आउट अफ बक्स सोचेर सबै सेक्टरलाई समेटेर लान सक्नुपर्छ । उत्तर र दक्षिण वा चीन र भारतलाई समेत समेटेर योजना बनाउन आवश्यक छ ।

Advertisement

Advertisement

Advertisement