बैंकर्स एशोसियशनको सिण्डिकेट नमानेपछि एनआइसी एसियालाई एक्ल्याइयो

Advertisement

काठमाडौंः आक्रामक बजार विस्तार गर्दै अघि बढेको एनआइसी एसिया बैंकको सदस्यता नेपाल बैंकर्स संघले निलम्बन गरेको छ । संघको निर्णय नमानेको भन्दै संघले शुक्रबारदेखि लागू हुनेगरी एनआइसी एसियासँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ ।

संघको आज बिहान बसेको आकस्मिक बैठकले संघ र एनआईसीबीचको हालको सम्बन्ध तथा सहकार्यलाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो । बैंकले संघको निर्णय भन्दा बाहिर गएर बैंकिंग प्रणालीलाई नै असहज बनाउन खाजेको आरोप लगाइएको छ ।

गत शुक्रबार संघमा आबद्द २८ वटा बैंकबीच बचत खाताको ब्याज दर ८ प्रतिशत र एक बर्षे मुद्दतिमा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको थियो। सहमति लगत्तै एनआइसी एसियाले १० प्रतिशतको बचतको ब्याजलाई आठ प्रतिशतमा झारेको थियो।

तर त्यसको एक साता पनि नबित्दै फागुन २४ गते मात्रै संघको निर्णय बिपरित बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेपछि बाँकी २७ बैंकले सम्वन्ध तोड्ने निर्णय गरेको हो ।

एनआइसीले १२ प्रतिशत ब्याजदरको ‘धनवर्षा मुद्दती खाता’लाई पुनः लञ्च गरेको छ भने ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आइरहेको छ ।

मुलुकभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, चार एक्स्टेन्सन काउन्टरहरु, तीन शाखारहित बैंकिङ सेवाहरुमार्फत सेवा प्रदान गर्दै आएको एनआइसी सर्वाधिक बढि बैंकिङ सञ्जाल भएको बैंक हो ।

संघले लागू गरेको सिण्डिकेटलाई अटेर गर्दै एनआइसी अघि बढेपछि एक्ल्याइएको हो । संघको निर्णय बाहिर गएर बैंकले आफूखुसी बैंकिंग प्रणालीलाई असहज बनाउन खाजेको आरोप अन्य बैंकको छ । संघले एनआईसी एसियासँग कुनै पनि किसिमको अन्तरबैंक कारोबार नगर्ने निर्णय गरेको हो ।

साथै संघले सो बैकसँग कुनै पनि किसिमका सम्बन्ध नराख्ने र एनआईसी एशियासँग अरु बैंकले विदेशी मुद्राको कारोबार पनि नगर्ने निर्णय भएको छ ।

खुल्ला बजार अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धालाई स्वीकार गर्न तयार हुनुपर्नेमा संघले एनआइसी एसियामाथि सिण्डिकेट लागू गरेका छन् । एनआइसी एसियाको पछिल्लो कदमले वाणिज्य बैंकहरुको प्रणालीमा नै समस्या ल्याउने संघको तर्क छ ।

एनआइसीको निर्णयले प्रणाली बिगार्नुका साथै अरु बैंकलाई पनि समस्यामा पार्ने भएकोले यस्तो निर्णय गर्न बाध्य भएको संघले जनाएको छ ।

संघले एनआईसी एसियाको पछिल्लो कदमको समीक्षा गर्न फागुन २७ गते आइतबार अर्को बैठक आह्वान गरेको छ । उक्त बैठकमा एनआईसी एशिया बाहेकका २७ वाणिज्य बैंकलाई आमन्त्रण गरेको संघले जनाएको छ ।

बिहीबार नै नेपाल बैंकर्स संघले तोकेको ब्याजदरको सिमा नाघेर ब्याज बढाउन दबाब आएको भन्दै आफू भद्र सहमति बिपरित जान नसक्ने भनेर एनआईसीका सिइओ लक्ष्मण रिसालले राजिनामा दिएका थिए ।

Advertisement

Advertisement

Advertisement