भाषण गर्न सिपालु प्रचण्ड आफै भन्छन– जनताले भाषण होइन, परिणाम खोजेका छन्

Advertisement

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले भाषण होइन, सिधै परिणाम खोजेको बताएका छन् । भाषण गर्न सिपालु र लामो समय भाषण गर्नसक्ने प्रचण्डले आइतबार संसदमा बोल्दै जनताले भाषण होइन, परिणाम खोजेको बताए ।

प्रचण्डले नेपालमा भाषण धेरै भएकाले सिधै ‘एक्सन’ चाहिएकाले सरकारले त्यसतर्फ लाग्नुपर्ने बताए । पछिल्लो समयमा प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु काम गर्न भन्दा भाषण गर्न प्रतिस्पर्धामा उत्रिएको बेला प्रचण्डले उनीहरुलाई लक्षित गर्दै बोलेका हुन् ।

मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उले भने, “सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ । प्रधानमन्त्रीलाई यी विषयमा जानकारी छ भन्ने उहाँको भनाइबाट स्पष्ट भएको छ । यो पटक जनताले जसरी भरोसा गरेका छन् । त्यसलाई कामबाट पुष्टि गरियोस् भन्ने नेपाली जनताको अपेक्षा छ । सरकारले परिणाम देखाउन शुरु गरोस् ।”

इतिहासमै पहिलोपटक दुई तिहाइ बहुमतको सरकार बनेको र सरकारको हात बलियो रहेकाले भ्रष्टाचार नियन्त्रण गर्न दृढताका साथ कदम चाल्न आग्रह गरे । प्रचण्डले भने, “नेपाली जनताले वर्तमान सरकारप्रति ठूलो भरोसा गरेका छन् । राज्यका सबै अंगमा हुने गरेको ढिलासुस्तीका विरुद्ध कदम चाल्ने भरोसा गरेका छन् । जनताको भरोसालाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वास लिएको छु ।”

प्रधानमन्त्रीले बोलेअनुसार सरकारले दृढताका साथ काम गर्नुपर्ने उल्लेख गर्दै उनले राजनीतिक स्थिरता र सुशासन दिने ऐतिहासिक अवसर प्राप्त भएकाले जनताका सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाडिने बताए । प्रचण्डले धेरै अप्ठ्यारा दिनहरु पार गरेर राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताका सामु गरेको वाचा अब भाषणमा होइन, कार्यान्वयनमा खोजेको बताए ।

उनले शान्ति प्रक्रियाका धेरै काम पूरा भएको र केही बाँकी रहेकाले त्यसलाई पनि पूर्णरुपमा कार्यान्वयन गरेर जानुपर्छ भने । वर्तमान सरकार विगतको सरकारको निरन्तरता नभई नयाँ आधारमा स्थापना भएको सरकार भएकाले जनताका पक्षमा काम गर्नैपर्ने बाध्यता रहेको पनि बताए ।

Advertisement

Advertisement

Advertisement