काठमाडौंः कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले आर्थिक समृद्धिका लागि प्रदेशहरूका बीचमा सकारात्मक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । आर्थिक एवं सामाजिक विकासका लागि मुलुकमा संघीय संरचना कार्यान्वयन गरिएको बताउदै उनले प्रदेश सरकारहरूले यही सोंचका साथ काम शुरू गर्न आग्रह गरे ।
‘भारतमा जब एक अर्का राज्यबीचलगानीआकर्षित गर्ने प्रतिस्पर्धा चल्यो ती राज्यहरूको मात्रै होइन, समग्र भारतकै आर्थिक बृद्धिदर उच्चहुनपुग्यो’ अध्यक्ष चौधरीले भने, ‘हाम्रा मुख्यमन्त्रीहरूले पनि आफ्नो प्रदेशलाई लगानीकर्ताहरूका लागि सबैभन्दा आकर्षक गन्तब्य बनाउने प्रतिस्पर्धा गर्नेछन् र यसबाट देशकै अर्थतन्त्रमा नयाँ उत्साह आउने विश्वास मैले लिएको छु ।’
सोमबार रौतहटको चन्द्रपुर महोत्सवमा सम्बोधन गर्दै चौधरीले थपे, ‘हाम्रा राजनीतिक एजेण्डाहरू व्यवस्थापन भएका छन् । अब प्रदेश सरकारहरूले प्रान्तिय संरचना वा कानूनी पक्षहरूका बारेमा अलमल नगरि विकासका एजेण्डालाई पहिलो प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।
प्रदेश नम्बर २ आर्थिक एवं सामाजिकविकासका दृष्टिले अहिले पछाडि रहेको तथ्य प्रस्तुतगर्दै उनले यस प्रदेशलाई देशकै सबैभन्दा विकसित प्रदेशमा रुपान्तरण गर्न सकिने प्रयाप्त आधार रहेको बताए ।
‘नेपालको आर्थिक राजधानीका रुपमा मानिने वीरगञ्ज यही छ । काठमाडौं–तराई फास्ट ट्रयाक, वीरगञ्ज–सिमरा औद्योगिक करिडोर र निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल जस्ता पूर्वाधारहरू यही रहेका छन्’, चौधरीले भने, ‘व्यापार÷बाणिज्य, औद्योगिक क्षेत्र, कृषी र पर्यटनमार्फत यस नेपालको सबैभन्दा सम्पन्न प्रदेश बनाउन सकिन्छ । तर हिजोका दिनमा जस्तै व्यवस्थापकीय कमजोरीहरू भने अब दोहोर्याउनु हुदैन ।’
‘रामजानकी मन्दिरदेखि अयोध्यासम्म ६ लेनको सडक विस्तार गरि जनकपुरलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने प्रचुर सम्भावना छ’ उहाँले भने, ‘तर विकासमाथि राजनीति गर्ने विगतका गल्तीहरूबाट भने पाठ सिक्न जरूरी छ ।’
प्रदेश नम्बर २ लाई व्यवसायिक कृषीउत्पादनगरि निर्यात गर्ने प्रमुख क्षेत्र बनाउनु पर्नेमा पनि उनले जोड दिए । ‘प्रदेश नम्बर २ को कृषिउपज प्रत्येक नेपालीको भान्सामा पुर्याउने नीतिका साथ काम गर्नुआवस्यक छ’, चौधरीले भने, ‘यहाँको उर्वर भूमिबाट कृषी क्रान्तिको नयाँ अध्याय शुरू गर्न सकिन्छ ।’
‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ रहेका छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आइसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने, ‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’
चौधरीले भने, ‘अहिले यो प्रदेशमा अहिले पनि करिब ३० प्रतिशत गरिवी छ । साक्षरताको अवस्था कमजोर छ । र, बेरोजगारी उच्च छ । पक्कै पनि अहिलेको अवस्था चिन्ताजनक छ । तर, पाँच बर्षमा यी सबै परिसूचकहरू उत्साहजनक हुनेछन् भनेर प्रदेश सरकारले आफ्नो काममार्फत् जनतालाई भरोसा दिलाउन सक्नुपर्छ ।’