एनआइसी एसियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ चैत २ गतेबाट बन्द हुने

Advertisement

काठमाडौंः निक्षेपको ब्याजदर कायम गर्ने विषयमा एनआइसी एसिया बैंक र नेपाल बैंकर्स एशोसियशनबीच चलेको द्धन्द्धले नयाँ मोड लिएको छ । एनआइसी एसियाले अर्को हप्ताबाट ब्याजदर घटाउने भएको छ ।

बैंकले मंगलबार विज्ञप्ति जारी गरी आफ्ना लोकप्रिय बचत र मुद्दती खाताहरु ‘धन वर्षा मुद्दती खाता’ (वार्षिक ब्याजदर १२ प्रतिशत) र ‘समुन्नति प्लस बचत खाता’ (वार्षिक ब्याजदर १० प्रतिशत) योजनाहरु चैत २ गतेबाट बन्द गर्ने निर्णय गरेको जनाएको छ । बैंकले गत फागुन ११ देखि सञ्चालनमा ल्याएका यी योजनाहरुमा चैत २ गतेसम्म खाता खोल्न सकिने छ ।

खुल्ला बजार अर्थतन्त्र र बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनविपरित बैंकर्स संघले ब्याजदरमा सिण्डिकेट कायम गर्न खोजेको भन्दै चर्को विरोध भइरहेको बेला संघको चर्को दबाब थेग्न नसकेपछि एनआइसी एसियाले दुवै खाता बन्द गर्ने निष्कर्षमा पुगेको हो । सोही विवादका कारण बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजिनामा समेत दिएका थिए ।

बैंकको विज्ञप्तिमा भनिएको छ ‘यी योजनाहरु आमजनमानसमा अत्यन्त लोकप्रियता हासिल गरेको भएता पनि विगत केही दिनयता नेपाल बैंकर्स संघ र यस बैंकबीच ब्याजदरसम्बन्धी विषयहरुमा देखिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हितहुने गरी हल गरेर जानुपर्छ भन्ने आमधारणा रहेको महसुस गर्दै सो को लागि सार्थक प्रयास गरी जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकबीच वर्तमानको असहज परिस्थिति र आवश्यकता समेतलाई मध्यनजर गर्दै दुवै खाताहरु बन्द गर्ने निष्कर्षमा पुगिएको छ ।’

बैंकले यसबाट ग्राहकहरुलाई पर्न गरेको असुविधाप्रति क्षमा पनि मागेको छ । साथै बैंकले आफ्ना लाखौं ग्राहकहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ सेवा प्रदान गरी एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने महाअभियानमा सदा प्रतिवद्ध रहेको जनाएको छ ।

निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा ठूलो नेटवर्क रहेको एनआइसी एसिया पछिल्लो समयमा आक्रमक बजार विस्तारका साथ अघि बढिरहेको छ । बैंकले भद्र सहमतिविपरित बचत खातामा १० प्रतिशत मुद्दतीमा ११ प्रतिशत ब्याज दिएको भन्दै एशोसियशनले उसँग कुनै कारोबार नगर्ने निर्णय गरेको थियो ।

अन्य बैंकले एक्ल्याएपछि दबाबमा रहेको एनआइसी एसियाले बढी ब्याजदरका निक्षेप योजनाहरु बन्द गरेको छ । बैंकको मुलुकभर १८३ शाखा छ भने १८५ एटिएम छ । एटीएमको यो संख्या बैंकहरुमा सबैभन्दा बढि हो ।

त्यसबाहेक चार वटा एक्स्टेन्सन काउन्टर, तीन वटा ब्रान्चलेस बैंकिङ युनिट र पाँच हजारभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट १० लाखभन्दा बढि ग्राहक रहेको यस बैंकको कुल कर्जा करिब एक खर्ब चार अर्ब र कुल निक्षेप करिब एक खर्ब २४ अर्ब छ ।

बैंकले आफ्नो वासलात, कुलकर्जा तथा कुलनिक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन सफल भइसकेको संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement