यूएस बंगला विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो- गृह मन्त्रालय

Advertisement

काठमाडौँ: सोमबार दुर्घटनाग्रस्त भएको यूएस बंगला विमानमा परी निधन हुनेको संख्या चालकदल सहित ५१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज बिहान बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई घटनाबारे जानकारी गराउने क्रममा उक्त मृतकको संख्या खुलाइएको हो ।

घटनाको अवस्थाका बारेमा जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएका हुन् ।

यता परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले पनि उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको बताए ।

मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बंगलादेशको उच्चस्तरीय टोली १०:३० बजे काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । उनका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।

Advertisement

Advertisement

Advertisement