एनसीसी बैंकमा सिआइबीको छापा, तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीहरु पक्राउ

Advertisement

काठमाडौंः नेपाल क्रेडिट एण्ड कमर्श ९एनसीसी० बैंक घोटाला प्रकरणमा संलग्न करिब १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले पक्राउ गरेको छ ।

शुक्रबार बिहान सीआइबीले घोटालामा संलग्न कर्मचारीहरुलाई पक्राउ गरेको हो । सीआइबी प्रमुख पुष्कर कार्कीका अनुसार घोटालामा संलग्न केहीलाई पक्राउ गरिए पनि केही भाग्न सफल भएका छन् । भाग्नेहरुको खोजी कार्य तीब्र बनाएका कार्कीले बताए ।

एनसीसी बैंकमा मर्ज भएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका कर्मचारीले कर्जा दुरुपयोग गरेको भन्दै एनसीसी बैंकले नेपाल राष्ट्र बैंकमार्फत् सीआइबीमा उजुरी गरेको थियो । कमसल धितो राखी करोडौं रुपियाँको ऋण प्रवाह गरेको पाइएपछि एनसीसी बैंक भित्रबाटै छानविन र कारवाहीका लागि उजुरी गरिएको हो ।

राष्ट्र बैंकको अध्ययनबाट पनि एपेक्स बैंकको कर्जा दुरुपयोग भएको पाइएपछि एनसीसी उजुरीका आधारमा राष्ट्र बैंकले पनि सिआइबीलाई पत्राचार गरी कर्जा दुरुपयोगमा संंलग्नलाई बैंकिङ कसूरमा मुद्दा चलाउन पत्राचार गरेको थियो ।

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकबाट एक अर्ब ५९ करोड रुपियाँ कर्जा दुरुपयोग भएको प्रारम्भिक अनुमान गरिएको छ । पक्राउ पर्नेहरुको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । एपेक्स डेभलपमेन्ट बैंकका तर्फबाट एनसीसीको बोर्डमा बिष्णु धितालले प्रतिनिधित्व गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement