नेपाली क्रिकेटः सम्भव छ टेस्ट मान्यता र विश्वकपको यात्रा

Advertisement

काठमाडौंः जिम्बावेमा भएको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको पहिलो प्लेअफमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले अबको चार वर्ष (२०२२) सम्मलाई अन्तर्राष्ट्रिय एकदिवसीय (ओडीआई) मान्यता पाएको छ ।

नेपालको कुनै पनि खेलले अन्तर्राष्ट्रिय जगतमा अहिलेसम्म पाएको यो नै सबैभन्दा ठूलो (टी २० विश्वकपलाई छाडेर) उपलब्धी हो । बिहीवार हरारेमा भएको प्लेअफमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई छ विकेटले पराजित गरेपछि विश्व क्रिकेटमा नेपालको सुनौलो इतिहास रचिएको छ ।

तर, नेपालको जितले मात्र यो उपलब्धी हात परेको होइन, बिहीवार नै भएको अर्को प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई ४४ रनले पराजित गरेपछि सम्भव भएको हो । प्रतियोगिताको सुपर सिक्समा अटाउने लक्ष्यका साथ जिम्बावे गएको नेपाल त्यसमा असफल भएपनि एउटा महत्वपूर्ण अवसर नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्राप्त भएको छ ।

प्रतियोगिता सुरु हुनु अगावै कप्तान पारस खड्काले नेपालको लक्ष्य विश्वकप छनोट नभएर ओडीआई मान्यता भएको बताएका थिए । उनले बताए अनुसारकै सफलता नेपाली टीमले प्रदर्शन गर्न सफल भएको छ ।

अबको चार वर्षमा नेपालले अन्तर महादेशीय (इन्टरकन्टिनेन्टल) क्रिकेट कपमा आफ्नो सहभागीता जनाउने छ । साथै, आइसीसीले नेपाललाई दिने रकममा पनि उल्लेख्य वृद्धि हुँदा नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नेछ ।

नेपालले विश्व क्रिकेटमा अविश्वसनीय प्रगति गरिरहँदा क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) भने आन्तरिक कलह र द्धन्दले ग्रस्त छ । आइसीसीको रेखदेखमा रहेको नेपाली क्रिकेट क्यानको विवाद नसुल्झिए निलम्बनमा पर्नसक्ने खतरा अझै कायम छ ।

नेपालले पाएको सफलतालाई अबको चार वर्षमा सदुपयोग गर्ने हो भने टेस्ट राष्ट्रको मान्यता पाउँन धेरै समय लाग्दैन । यस अवधिमा नेपालले क्रिकेटका संरचना, घरेलु प्रतियोगिता र खेलाडी उत्पादनमा ध्यान दिएमा अन्तर्राष्ट्रिय टेस्ट मान्यताका साथै विश्वकप जस्ता सपनाका प्रतियोगितामा सहभागिता निश्चित प्रायः छ ।

Advertisement

Advertisement

Advertisement