एनसीसीका सञ्चालक बिष्णु धितालसहित १३ जना पक्राउ, यस्तो छ नामावली

Advertisement

काठमाडौंः तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकमा रहँदा कमसल धितो देखाई डेढ अर्ब रुपियाँ हानीनोक्सानी पुर्याएको आरोपमा एनसीसी बैंकका सञ्चालक सहित १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एनसीसी बैंकको सञ्चालकसमेत रहेका तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष बिष्णु धिताल, उक्त विकास बैंकका सञ्चालकहरु इच्छाराज गुरुङ, सुवर्णराज भण्डारी, मधुवनराज भण्डारी छन् भने बाँकी कर्मचारीहरु छन् । पक्राउ पर्नेमा उक्त तत्कालिन बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत ऋषिराज भट्टसमेत छन् ।

एनसीसी बैंकमा २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाबाट अनियमिता प्रक्रियाबाट कर्जा प्रवाह गरी बैंकलाई एक अर्ब ५० करोड ९६ लाख रुपियाँ नोक्सानी पुर्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ ।

उनीहरुलाई शुक्रबार बिहान एनसीसी बैंकको सञ्चालक समिति बैठक सकिएपछि पक्राउ गरिएको थियो । एपेक्समा कमसल धितो राखी ऋण प्रवाह भएको भन्दै दोषीहरुलाई कारवाही गर्न भन्दै एनसीसी बैंक भित्रैबाट राष्ट्र बैंकलाई पत्राचार भएपछि सिआइबीले आज छापा मारी कारवाही अघि बढाएको हो ।

पक्राउ परेकाहरुलाई बैंकिङ कसूर तथा सजाय ऐनअनुसार कारवाही हुने जनाइएको छ । सिआइबीका अनुसार कमसल धितो राखी भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरु खडा गरिएको, निश्चित क्षेत्रको कमसल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रीत गरेको, ऋणीको नक्कली आयस्रोतसम्वन्धी विवारणहरुलाई स्वीकृत गर्ने गरिएको, बाटै नभएको ठाउँको जग्गामा बाटो भएको प्रमाणित गरिएको पाइएको छ ।

साथै, धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह एकै दिनमा गरिएको, कमसल जग्गाहरु धेरै टुक्रा पार्ने, धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको, कर्जा तमसुकहरुमा एकल ऋणीहरुको मात्रै सहीछाप गराई साक्षीहरुसमेत नराखी कर्जा दिएको, साँवा र ब्याज नियमितरुपमा नदिएका ऋणीहरुलाई समेत पुनः कर्जा दिइएको, एउटै व्यक्तिहरु सञ्चालक भएर पूराना खराब ऋणीहरुलाई संरक्षण गर्ने गरेको पाइएको सिआइबीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement