तनहुँ जलविद्युत आयोजनाका प्रभावितहरुलाई निःशुल्क सीपमूलक तालिम

Advertisement

दमौलीः कुल १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितहरुलाई निःशुल्क सीपमूलक तालिम दिएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिकबाट पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्टे«सियन (हाउस वायरिङ) र प्लम्बिङको तालिम दिन सुरु गरेको थियो ।

तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन भएको तालिममा इलेक्टे«सियनमा दुई समूह र प्लम्बिङमा एक समूह थिए । तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टा थियो ।

शुक्रबार शिक्षालयमा गरिएको कार्यक्रममा तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रवन्ध सञ्चालक प्रदिप थिकेले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरे ।

कार्यक्रममा पौडेलले आयोजनाले प्रभावितलाई निःशुल्क तालिम दिएर प्रशंसनीय काम गरेको बताए । उनले तालिम लिएका आयोजना प्रभावितलाई आग्रह गर्दै भने, ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सहयोगीको भूमिका खेल्दै स्वरोजगारमार्फत आयआर्जन गर्नतर्फ क्रियाशील रहनु होला ।’

प्रवन्ध सञ्चालक थिकेले आयोजना निर्माणका लागि मूख्य ठेकेदार परिचालन भएपछि त्यस कम्पनीको आवश्यकता र तालिम लिएका व्यक्तिको दक्षताका आधारमा रोजगारीमा प्राथमिकताका लागि पहल गरिने बताए । उनले प्रभावित महिलालाई लक्षित गरी छिट्टै ब्यूटिसियन र सिलाई कटाई तालिम सञ्चालन गर्न लागिएको बताए ।

शिक्षालय प्रमुख दामोदर कंडेलले तालिमबाट प्राप्त सीपलाई प्रयोग गरी व्यवसाय सञ्चालन गर्न आग्रह गरे । कार्यक्रममा प्रशिक्षार्थी अमृत थापाले स्वरोजगारका लागि तालिम फलदायी भएको बताए ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिइएको हो ।

उमेर १८ वर्ष पूरा भएका, साधारण लेखपढ गर्न सक्ने र आयोजनाबाट प्रत्यक्ष प्रभावितले तालिमका लागि योग्यता तोकिएको थियो । व्यास नगरपालिका वडा नम्बर ५, भिमाद नगरपालिका वडा नम्बर ५ तथा ६, म्याग्दे गाउँपालिका १ देखि ५ वडाका र रिसिङ गाउँपालिका बडा नम्बर १, ६, ७ र ८ वडाका प्रभावितहरु तालिममा सहभागी थिए ।

तालिममा सहभागीलाई निशुल्क खाने र बस्ने व्यवस्था गरिएको थियो भने घरैबाट आवत जावत गर्नेलाई बाटो खर्चको समेत व्यवस्था थियो । आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ ।

आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मुआव्जा तथा क्षतिपूर्ति बितरण भइसकेको छ ।

आयोजनाको कुल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारणलाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो । आयोजनामा सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ ।

आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्नेछन् । सन् २०२२ भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement