राष्ट्रिय औद्योगिक प्रर्दशनी ९ चैत्रदेखि, ७७ वटै जिल्लाका साना उद्यमी सहभागी हुने

Advertisement

काठमाडौंः घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा यही चैत्र ९ देखि १३ गतेसम्म भृकुटीमण्डपमा २९औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।

‘स्वदेशी वस्तु प्रयोग गरौ, समृद्धितर्फ अघि बढौं’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रर्दशनीमा मुलुकभरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने समितिका कार्यकारी निर्देशक नविन झाले बताए ।

प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामानहरु बिक्री तथा प्रर्दशनिका लागि राखिनुका साथै मुलुकभरका उद्यमीहरुको जमघट तथा अन्तरक्रिया हुने भएकाले पनि यस प्रर्दशनीको महत्व रहेको झा बताउँछन ।

प्रर्दशनीमा तीन सय प्रर्दशनी कक्ष (स्टल) रहने छन भने २० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रर्दशनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादनहरु, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तुहरु, बाँसका वस्तुहरु, फलफुलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषि तथा वन्य उत्पादनहरु लगायतका सामानहरु प्रर्दशनीमा रहने छन् ।

सबै जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छाता मुनीबाट उपभोक्तलाई सहज रुपमा खरिद गर्न मिल्ने गरि स्टल तयार पार्न लागिएको कार्यकारी निर्देशक झाले बताए ।

सोही प्रर्दशनी कै अवसरमा उद्यमीहरुलाई पूर्ण रुपमा जानकारी दिन बौद्धिक सम्पती तथा उद्योग व्यवसाय प्रवद्र्धन बारे सम्वन्धित निकाय र उद्यमीहरुबीच अन्तरक्रियालगायतका कार्यक्रम आयोजना हुनेछन् । लघु घरेलु तथा साना उद्यमीहरुबाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रवद्र्धन गर्ने अभिप्रायले समितिले हरेक बर्ष यस औद्योगिक प्रदर्शनीलाई निरन्तरता दिँदै आएको छ ।

साथै, प्रर्दशनको उद्देश्य नेपाली उद्यमीहरुले उत्पादन गरेका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्न सहज गर्नु पनि रहेको छ । विसं २०४२ सालदेखि आयोजित यस प्रदर्शनीमा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिने गरिएको समितिका उपकार्यकारी निर्देशक देवप्रसाद गुरागाईले बताए ।

Advertisement

Advertisement

Advertisement