सन् २०१८ मा मोदी र सिलाई नेपाल ल्याउने ज्ञवालीको उदघोष, अब्बासीको भ्रमण सदभावपूर्ण मात्रै

Advertisement

काठमाडौंः नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपाल ल्याउने उदघोष गरेका छन् । रिपोर्टर्स क्लवमा शनिबार उनले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्तर्राष्ट्रिय भ्रमणहरु हुने जिकिर गरे ।

ज्ञवालीले भने, ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ र चिनियाँ राष्ट्रपति सि जिनपिङपनि आउनुहुन्छ । त्यसैगरि, नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन् ।’ उनले आफू अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेको बताए ।

हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाई थियो ।

त्यसैगरि, नेपालका प्रधानमन्त्री केपी ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने सुनाए । उनले भने, ‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृहकार्यमा हामी जुटिसकेका छौं ।’ ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भनेर सोधिएको प्रश्नमा ज्ञवालीले भने, ‘पहिला कुन देश जाने भन्नेबारे अहिले यकिन भइसकेको छैन, भारतबाट पनि हुनसक्छ, यसबारे छलफल सुरु गरेका छौं, चीनबाट पनि हुनसक्छ, प्रधानमन्त्री र राष्ट्रपति दुवै जना विदेश भ्रमणमा जानुहुन्छ, तर अहिले भ्रमण तालिका निश्चित भएको छैन् ।’

यसअघि प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चीनमा गरेका ओलीले यस पटक पनि चीनबाटै सुरु गर्ने संकेत ज्ञवालीको अस्पष्ट भनाईबाट देखिन्छ । उनले भारत र चीनलगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने बताए ।

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिइसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो । उनले भने, ‘त्यही कुरामा टेकेर हामी पनि सम्बन्ध नयाँ उचाईमा पुर्याउँछौं, यो बीचमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, हामी गृहकार्यमा जुटिसकेका छौं ।’

ज्ञवालीले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कुटनीतिलाई बढावा दिने विश्वास दिलाए । राजदूतहरुसँगको भेटलाई व्यवस्थित् गर्ने र परराष्ट्र मन्त्रालयलाई जीवन्त संस्थाको रुपमा स्थापित गर्न आफूले सशक्त भूमिका खेल्ने उनले बताए ।

उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । ज्ञवालीले भने, ‘नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।’

ज्ञवालीले छिमेकीहरुसँग असल, सन्ुतलित र पारस्परिक लाभ हाँसिल गर्ने रुपमा सम्बन्ध प्रगाढ बनाईने बताए । उनले थपे,‘भारत र चीन दुवैसँग हामी प्रगाढ सम्बन्ध कायम गर्छौं, नेपाल कुनैपनि छिमेकीको अहितमा छैन, कसैको विरुद्धमा नेपाली भूमि प्रयोग हुन दिँदैनौं।’

ज्ञवालीले भारत र चीन दुवै मित्रराष्ट्रले तिव्र आर्थिक विकास हाँसिल गरेकोले उनीहरुसँग नेपाल जोडिनु खुशीको कुरा भएको टिप्पणी गरे । उनले भने, ‘त्यसबाट अलग रहन सकिँदैन्, चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, भारत उदयीमान अर्थतन्त्र हो, दुवै देशसँग हामी सुमधुर र सन्तुलित सम्बन्ध राख्छौं ।’

ज्ञवालीले संयुक्त राष्ट्रसंघ जस्तो फोरमलाई साना राष्ट्रहरुको बोल्ने थलो बनाउनको लागि आवाज उठाउने, सार्कलाई सही ढंगले अघि बढाउँदा यो क्षेत्रको विकास हुने भएकोले त्यतातिर ध्यान दिने बताए ।

उनले भने, ‘परराष्ट्रमन्त्रीको हैसियतले र नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई सक्रिय बनाउन भूमिका खेल्छु, त्यस्तै विमस्टेक लगायतका क्षेत्रीय संगठनहरुमा नेपालको तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्छु ।’

त्यस्तै ज्ञवालीले युएन शान्ति मिशनमा सबैभन्दा सेना पठाउने राष्ट्रहरुमा नेपाल छैटौं राष्ट्रमा पर्ने भएपनि नेपालको पहुँच कमजोर रहेकोले त्यसमा पनि ध्यान दिने बताए । फरक प्रसँगमा उनले हालै भएको पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण सद्भाव भ्रमण भएकोले यसलाई अन्य रुपमा टिप्पणी गर्न नहुने तर्क गरे ।

ज्ञवालीले भने, ‘उहाँ प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन आउनुभएको हो, भेटघाटमा स्थगित रहेको सार्क सम्मेलनलाई तत्काल गराउन पहल गरिने विषयमा कुरा भयो, त्यस्तै द्धिपक्षीय सम्बन्धको बारेमा पनि कुरा भएको हो ।’

सिरियामा भएको मानवीय संकटमा पनि आफूहरुको चासो रहेको ज्ञवालीले सुनाए । उनले भने, ‘संयुक्त राष्ट्रसंघले युद्धविराम आह्वान गरिसकेको छ, मानवीय दृष्टिकोणले सकेसम्म युद्ध अन्त्य गर्नुपर्छ, नभए युद्धविराम गर्नुपर्छ, शक्ति राष्ट्रहरुको स्वार्थको कारण सिरियामा मानवीय संकट भएको हो ।’

Advertisement

Advertisement

Advertisement