नेपालमा भारतीय लगानी ल्याउन कस्तो सहयोग गर्नुपर्छ ? म गर्न तयार छु– ओली

Advertisement

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानी ल्याउन भारतीय उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग आग्रह गर्दै लगानी ल्याउने कुरामा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको शोवाना कामिनेनी नेतृत्वको परिसंघको प्रतिनिधिमण्डलसँग आइतबार कुरा गर्दै ओलीले नेपालमा लगानी ल्याउन नेतृत्वदायी भूमिका खेल्न परिसंघलाई आग्रह गरे । कामिनेनीसँगै नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणासहितका पदाधिकारी पनि प्रधानमन्त्री निवास पुगेका थिए ।

एपोलो हस्पिटल इन्टरप्राइजेज लिमिटेडकी कार्यकारी अध्यक्षसमेत रहेकी कामिनेनीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब समृद्धिको मार्गमा अगाडी बढेकाले नेपालमा भारतीय संयुक्त लगानी विस्तारका लागि सहयोग गर्न आग्रह गरे ।

उनले मुलुकको समृद्धि नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताए । ओलीले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबाट नेपालमा भारतीय संयुक्त लगानी बढाउन भूमिका खेल्न आग्रह गर्दै नेपालमा लगानी ल्याउने कुरामा कस्तो सहयोग गर्नुपर्छ ? मलाई भन्नुहोस, सरकार सहयोग गर्न तयार छ भने ।

महासंघका अध्यक्ष राणाले आगामी अप्रिलमा दुवै महासंघको संयुक्त आयोजनामा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलन आयोजनाको गृहकार्य भइरहेको जानकारी दिइन । नेपालमा भारतीय लगानी विस्तारमा सो सम्मेलन महत्वपूर्ण हुने उनले बताइन ।

परिसंघकी अध्यक्ष कामिनेनीले नेपालको आर्थिक विकासको अभियानमा सहभागी हुन भारतीय निजी क्षेत्र पनि उत्साहित रहेको बताइन । उनले संयुक्त लगानी विस्तार, लगानीका क्षेत्र पहिचानका लागि आगामी दिनमा ठोस गृहकार्यसहित अगाडी बढ्नुपर्ने बताइन ।

Advertisement

Advertisement

Advertisement