पाइलट अभावले निगमका चार चिनियाँ विमान उडेनन्

Advertisement

काठमाडौंः विमान चालक (पाइलट) अभावका कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का साना विमान त्यतिकै थन्किएका छन् । निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका चार वटा वाई–१२ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएका हुन् ।

नियमित व्यावसायिक उडानमा हुनुपर्ने विमानबाट उडान हुन् नसस्कँदा निगमलाई निकै ठूलो आर्थिक भार पर्न गएको छ । पाइलट अभावले उडान भर्न नसकेका विमानलाई नियमित सेवामा लैजान आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

पाइलट अभावले निगम चीनबाटै पाइलट ल्याउने तयारीमा रहेको भए पनि सेवा सुविधाबारे कुरा मिलिनसकेकाले अझै छलफल चलिरहेको छ । निगमसँग अहिले चिनियाँ जहाज उडाउन सक्ने पाइलट एकजना मात्रै रहेकामा उनी पनि विरामी भएपछि एक सातादेखि चार चिनियाँ जहाज उड्न सकेका छैनन् ।

यसअघि पोखरा, भरतपुर र सिमरामा उडान गर्दै आएका वाई १२ एक साता यतादेखि पाइलट अभावका कारण उडान नगरी बसेका छन् । झण्डै एक महिना अघि भित्रिएका थप दुई चिनियाँ वाई–१२ का लागि पाइलट अभाव रहेको निगमको भनाइ छ ।

अहिले निगमसँग चार वाई १२ सहित आन्तरिक उडानमा आठवटा जहाज छन् । निगमले काठमाडौंबाट सिधा छ र विराटनगर तथा नेपालगञ्जबाट अन्य ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

त्रिचालिस पाइलट मागः निवेदन अति न्यून

निगमले पाइलट अभाव पूर्ति गर्न हालै ४१ जना पाइलटको विज्ञापन माग गरेपनि अहिलेसम्म ११ जनाले मात्र निवेदन दिएका छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनीयाँ विमान उडाउन पनि समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चालनमा रहेका विभिन्न जहाजका लागि करारमा आवेदन माग गरेको थियो ।

निगमले अबको तीन महिनाभित्र थप दुई वाइड बढी विमान अन्तर्राष्ट्रिय उडानका लागि भित्र्याउँदैछ । हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ एसिबी–५७५ र दुई एयरवस ए–३२० विमानबाट अन्तर्राष्ट्रिय उडान निगमले भर्दै आएको छ । आगामी असारको दोस्रो साता (जुनभित्र) वाइड बढी विमान नेपाल भित्रिने निगमका महाप्रबन्धक कंसाकारले बताए ।

Advertisement

Advertisement

Advertisement