चालू आर्थिक बर्षको सात महिनामा ६१३ अर्ब बढी व्यापार घाटा

Advertisement

काठमाडौँ: चालू आर्थिक बर्ष २०७४/७५ को सात महिनासम्ममा कुल वस्तु व्यापार घाटा १९.४ प्रतिशतले बढी ६१३ अर्ब ६० करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ६६.२ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.२ प्रतिशत रहेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ७.६ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिकमा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पती घ्यू, धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलँैची, जि.आई पाईप, उनी गलैँचा, तामाका तार लगायतका वस्तुहरूको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात १८.९ प्रतिशतले बढेर ६६१ अर्ब २३ करोड रुपियाँ पुगेको छ । समीक्षा अवधिमा भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, जिङ्क ईनगोट लगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगंज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्टले देखाएको छ ।

Advertisement

Advertisement

Advertisement