बन्द भएको २६ वर्षपछि बलेवा विमानस्थलमा व्यावसायिक उडान सुरु

Advertisement

बागलुङः बलेवा विमानस्थलमा आउदो चैत ९ गते (शुक्रबार)देखि बन्द भएको २६ वर्षपछि व्यावसायिक उडान शुरु हुने भएको छ । सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले गरेको परीक्षण उडान सफल भएपछि विमानस्थल नियमित रुपमा सञ्चालनमा आउन लागेको हो ।

काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ । नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बताए । उनले परीक्षण उडान सफल भयो अब नियमित उडान शुरु हुँदा धवलागिरिवासीको सपना पूरा भएको भताए ।

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उनको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँलगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११ ः १५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो ।

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताए । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उनको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताए । बागलुङ–काठमाडौँंको भाडादर निश्चित भइनसकेको तर ६ हजार रुपियाँको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौँं पुग्नेछन् ।

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement