बलदेवको बचन– तीन वर्षभित्रमा कृषिमा आत्मनिर्भर, पाँच वर्षमा निर्यात, जग्गाको खण्डिकरण रोकिने

Advertisement

काठमाडौंः कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार उनले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए । खनालले भने, “राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ । गहिरो अध्ययन हुँदैछ ।”

उनले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिने समेत दाबी गरे । मन्त्री खनालले कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने बताए ।

त्यसैगरी, सातदेखि दशवर्षसम्ममा फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुनेगरी काम सुरु गरिने उनको भनाई छ । खनालले अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै कृषिप्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताए ।

मन्त्री खनालले अहिले नेपालको कृषि क्षेत्र घिस्रिरहेको तर्क गर्दै कृषिजन्य उत्पादन आयात र खरिद मात्रै हुनु चिन्ताजनक भएको बताए । उनले भने, “आयात र खरिद मात्रै हुनु दुखद हो । त्यसैले अब कृषि आधुनिकीकरणको जरुरी छ ।”

खनालले यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै उक्त परियोजनालाई परिमार्जन गर्नुपर्ने बताए ।

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागी गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ । खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताए ।

उनले भने “जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ । सरकारले पनि प्रोत्साहन गर्छ । विषादीको प्रयोग रोक्नुपर्छ ।” मन्त्री खनालले भूमि व्यवस्थापनका लागि पनि आफूले तत्काल नयाँ काम थाल्ने बताए ।

भूमि व्यवस्थापनका लागि मालपोत र नापी कार्यालयलाई नै व्यवस्थित गर्नुपर्ने उनको तर्क छ । जमिन खण्डिकरण र कित्ता काट रोक्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेर निर्णय गर्ने बताए । सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने विषयमा पनि आफू गम्भीर भएको खनालको तर्क छ ।

Advertisement

Advertisement

Advertisement