राष्ट्रिय हितमा काम गर्दा कुनै शक्ति केन्द्र रिसाउँछ कि ? भनेर चिन्ता नलिनुहोसः ओली

Advertisement

काठमाडौंः सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई समेत राजधानी बोलाएका प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि ? भनेर चिन्ता नगर्न केन्द्र मन्त्रीदेखि मुख्यमन्त्रीहरुलाई सुझाव दिएका छन् ।

सिंहदरबारमा बुधबार बिहान भएको बैठकमा ओलीले आफ्नो देशको हितमा काम गर्दा अरु देश वा कुनै शक्ति केन्द्र रिसाउला कि ? भन्ने सोच नराख्न आग्रह गर्दै आफ्नो देश र आफ्ना जनताको हितमा काम गर्न निर्देशन दिए ।

उनले सबै मुलुकले आफ्नो हितमा काम गर्ने हो भन्दै आफ्नो लागि काम गर्दा अरु सिराउँछ कि भनेर गराउनु जरुरी छैन भन्दै अबको ध्यान आफ्नो मुलुक कसरी बनाउने भन्नेतर्फ हुनुपर्ने बताए ।

ओलीले असफल हुने छुट कसैलाई पनि छैन भन्दै देशले लामो राजनीतिक क्रान्ति पूरा गरेर आर्थिक विकासतर्फ अघि बढन लागेको बेला हामीलाई असफल हुने कुनै बहाना छैन । अबको एकमात्रै एजेन्डा भनेको विकास मात्रै हो भने ।

अब सातै प्रदेशले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने, सुशासन हुनुपर्ने, नराम्रो कामका लागि नभएर राम्रो कामको लागि सबै प्रदेशबीच आन्तरिक प्रतिस्पर्धा गर्नुहोला भन्दै उनले आफ्नो देश वा प्रदेशको हितको लागि काम गर्दा कोही कसैसँग डराउनु जरुरी छैन भने ।

ओलीले तोकिएको लक्ष्यअनुसार अबको १३ बर्षभित्र सहश्राब्दी विकास लक्ष्य पूरा गर्नेगरी काम गर्न सबै इमान्दार र प्रतिवद्ध हुनु जरुरी छ भन्दै कसरी विकास लक्ष्य भेट्टाउने हो ? भनेर अहिलेदेखि नै योजना बनाएर काम गर्न सल्लाह दिए ।

प्रदेशहरुबीच कुनै कानुनी समस्या भए उक्त समस्या फुकाउन महान्यायाधिवक्ताको संयोजकत्वमा सहजीकरण समिति बनेको ओलीले जानकारी दिए । केन्द्रका रक्षा, गृह, कानुन, अर्थमन्त्री तथा प्रदेशका मुख्यमन्त्री र सचिवहरु सहभागी बैठक मुख्यमन्त्रीहरुले काम गर्ने भइरहेको कानुनी र प्रशासनिक जटिलताहरुका विषयमा जानकारी गराइरहेका छन् ।

Advertisement

Advertisement

Advertisement