सरकारले २०२० लाई नेपाल टुरिजम इयर घोषणा गर्ने

Advertisement

काठमाडौंः सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो ।

यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने बताएका हुन् । पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको छ । चन्द्रागिरि हिल्सलाई सरकारले उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भएको छ ।

पर्यटन मन्त्री अधिकारीले बुधबार चन्द्रागिरिको स्थलगत अवलोकन गर्दै महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए । उनले आधिकारिक समयसीमा तोकेर पर्यटन मन्त्रालयले यो विमानस्थल यति दिनभित्र बनिसक्छ भनेर समयसीमा स्पष्ट गर्ने बताए ।

नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै उनले यसमा सञ्चारमाध्यमले राजनीतिकभन्दा आर्धिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए । वार्षिक करिब सात लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौँ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो ।

समुन्द्री सतहबाट झण्डै दुई हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडा करिब १२ मिनेट केबुलकार यात्रामा पुग्न सकिन्छ । करिब दुई वर्षदेखि सञ्चालन भइरहेको चन्द्रागिरि केवलकार महत्वपूर्ण आकर्षण बनेको छ । प्राकृतिक मनोरम दृश्य तथा उचाइको मज्जा लिन ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement