यस बर्षको राष्ट्रिय औद्योगिक प्रदर्शनीको फरक विशेषता– साना प्रविधिहरुको पनि प्रदर्शनी

Advertisement

काठमाडौंः सरकारीस्तरबाट हरेक बर्ष आयोजना हुने संभवन सबैभन्दा ठूलो प्रदर्शनी ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी’को यस बर्षको संस्करणमा फरक विशेषताको रुपमा घरेलु तथा साना उद्योग प्रविधिहरु पनि प्रदर्शनी गरिने भएको छ ।

मेला आयोजक घरेलु तथा साना उद्योग विकास समितिले बुधबार पत्रकार सम्मेलन गरी यस बर्षको मेलालाई फरक बनाउन घरेलु तथा साना प्रविधिहरुको पनि प्रदर्शनी गर्न लागिएको जनाएको हो । समितिका कार्यकारी निर्देशक नविन झाले औद्योगिक विकासमा प्रविधिको महत्वपूर्ण भूमिका हुने भएकोले यस बर्ष यस्ता प्रविधिको प्रवद्र्धनका लागि प्रदर्शनीमा राख्न लागिएको बताए ।

समितिले यही चैत ९ गतेबाट गर्न लागेको प्रदर्शनी २९औं हो । समितिले २०४२ सालदेखि यो मेला गर्दै आएको छ । यस बर्षको मेलामा ७७ वटै जिल्लाबाट कम्तिमा दुई जना लघु, घरेलु तथा साना उद्योगहरुले भाग लिनेछन् । भृकुटीमण्डपमा आयोजना हुने यस प्रदर्शनीमा तीनसय भन्दा बढि स्टल रहने जनाइएको छ ।

अघिल्लो पटक पाँच करोड रुपियाँ कारोबार भएकोमा यस पटक आठ करोड रुपियाँको कारोबार हुने अनुमान गरिएको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमीलाई पुरस्कृतसमेत गरिने छ ।

‘स्वदेशी वस्तु प्रयोग गरौ, समृद्धितर्फ अघि बढौं’ भन्ने नाराका साथ आयोजन ागर्न लागिएको प्रदर्शनीको उदघाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । कार्यकारी निर्देशक झाले नेपालको कुल गार्हस्थ उत्पादनमा छ दशमलव सात प्रतिशत योगदान रहेको औद्योगिक क्षेत्रमा घरेलु तथा साना उद्योगको योगदान ८० प्रतिशत रहेको भन्दै मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन निर्यात प्रवद्र्धनका लागि पनि साना उद्योगधन्दाको विकास जरुरी रहेको बताए ।

पाँच दिनसम्म चल्ने मेला मौलिक नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादन, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशाबाट उत्पादित कपडा र वस्तुहरु, बाँसका वस्तुहरु, फलफुलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषि तथा वनजन्य उत्पादनहरु प्रदर्शनीमा राखिने समितिका सहकार्यकारी निर्देशक विनोददेव पन्तले बताए ।

Advertisement

Advertisement

Advertisement